पढ्न लाग्ने समय : 4 मिनेट
माघ शुक्ल पञ्चमीका दिन ‘श्रीपञ्चमी’ पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइन्छ ।
चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागिश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् ।
ललितपुरको लेलेस्थित सरस्वतीको मुर्ति ।
विद्या र सिर्जनाकी देवी भएकाले विशेषगरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् ।
सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ यस दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने उल्लेख छ । यसैकारणले सरस्वती पूजालाई ठूलो महत्व दिइन्छ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरी विद्या प्रारम्भ/ अक्षरारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ ।
वि.सं. २०२६, सिन्धुपाल्चोक जिल्लाको सदरमुकामस्थित चाैतारा हाइस्कुलका विद्यार्थीहरू सरस्वती पूजाको खट नगरपरिक्रमा गराउँदै।
यस दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नु पर्दैन भन्ने मान्यता छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ ।
वि.सं. २०२५, वीरगञ्जस्थित श्रीजुद्ध हाइस्कुलका विद्यार्थीहरू सरस्वतीको रथ विसर्जनका लागि नदीमा तर्फ लग्दै ।
उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा माघ शुक्ल पञ्चमीको बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्ने गर्छ ।
वि.सं. २०२४, म्याग्दीको बेनीस्थित एक विद्यालयका विद्यार्थीहरू सरस्वती पूजाका लागि प्रसाद तयार गर्दै ।
सरस्वतीलाई चढाइएको सात गेडा अक्षता निलेमा विद्या र बुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ । यस अवसरमा हनुमानढोका दरबारमा वसन्त श्रवण गरिन्छ । वसन्त श्रवणमा राष्ट्राध्यक्षका नाताले राष्ट्रपतिको उपस्थिति हुने गर्दछ ।
वसन्त ऋतु
वसन्त ऋतु शिशिर ऋतु र गृष्म ऋतुको बिचमा आउने तथा ६ वटा ( पश्चिमी सभ्यतामा ४ वटा) ऋतुहरूमा मनमोहक ऋतु हो । वसन्त भन्नाले बहार (यौवनावस्था) भन्ने बुझिन्छ । वसन्त ऋतुमा प्रकृतीको बहार आउँछ । हिन्दू धर्मको महान ग्रन्थ गीतामा भगवान श्री कृष्णले अर्जुनलाई "म ऋतुहरूमा वसन्त ऋतु हुँ" भनेका छन्। पौराणिक तथा आधुनिक कविहरूले वसन्त ऋतु माथी सयौँ कविताहरू लेखेका पाइन्छन् । वसन्तमा न गर्मी न चिसो ठिक कै मौसम हुन्छ। प्रकृतीले नौलो काँचुली बदल्छ ।
हिन्दू महिनाहरूको २ महिना चैत्र र बैसाख महिना वसन्त ऋतु भित्र पर्दछन । वसन्त ऋतु सबैभन्दा राम्रो, रमाइला र मनमोहक ऋतु हो। वसन्त ऋतुमा सबै बोटबिरुवाहरूको पुरानो पात झर्छ र नयाँ पात पलाउँछ। वसन्त ऋतिमा जतात्यतै हरियाली हुन्छ। यो ऋतुलाई सबैले मन पराउँछ।त्यसैले यस ऋतुलाई ऋतुराज पनि भनिन्छ।
सन्दर्भ सामाग्री
रासस
प्रताप बानियाँ
विकिपिडिया
डउग हल