युवाराज वीरेन्द्रको विवाह, इतिहासकै भव्य हिन्दु वैवाहिक समारोह

पढ्न लाग्ने समय : 3 मिनेट

वि.सं. २०२६ साल फागुन १६ गते शुक्रबारका दिन तत्कालीन युवराज वीरेन्द्रको ऐश्वर्या राज्यलक्ष्मीदेवी राणाका साथ विवाह सुसम्पन्न भएको थियो । उक्त विवाह उत्सवलाई इतिहासकै सबैभन्दा भव्य हिन्दु वैवाहिक समारोहको रूपमा चित्रण गरिन्छ । जानकारहरूका अनुसार युवराज वीरेन्द्रको विवाहमा ९५ लाख डलर खर्च भएको थियो । 

 

विवाह समारोहको लागि सहभागी हुन ५० देशका राष्ट्र प्रमुखलाई निम्त्याइएको थियो । जसमा भारत, श्रीलंका र लाओसका राष्ट्र प्रमुखमात्र आए भने अन्यले प्रतिनिधी पठाए । ३०० जना विशिष्ट विदेशी पाहुनाको लागी काठमाडौंका ठूला होटल सबै बुकिङ गरिएका थिए । नौ दिन लामो कार्यक्रममा देशैभरबाट पनि पंचायतका अग्रणीहरुलाई निम्त्याइएको थियो ।

काठमाडौं उपत्यकाको सिङ्गार्ने काम ६ महिना अगाडीबाट थालिएको थियो । सडक सुधार देखी लिएर गरिबी देखिने बस्ती छेक्न अग्ला अग्ला इँटाका पर्खालहरु पनि खडा गरिएका थिए । बिजुली बत्तीको व्यवस्थाको लागि पनि ठूलै रकम राज्यबाट खर्चिएको थियो ।


 

भविष्यका राजको विवाह समारोहमा आउने विशिष्ट पाहुनाको लागि जापानबाट २०० वटा गाडी ल्याइएको थियो भने भारतको दिल्लीबाट दुइवटा जहाज भरि खानेकुरा ल्याइएको थियो । १५० जना वेटरहरु पनि भारतबाट नै आएका थिए भने कोकाकोला पनि भारतबाट नै ल्याइएको थियो । सयौं क्विन्टल बास्नादार फूल नेदरल्याण्डबाट ल्याइएको थियो । विवाह समारोहको विशेष बग्गीको लागि चारवटा विशेष प्रजातीको अरबी घोडा बेलायतबाट ल्याइएको थियो । साथै चितवनबाट नौ वटा तालिम प्राप्त हात्ती पनि राजधानी ल्याइएको थियो । यहि अवसरमा विदेशबाट आउने पर्यटकलाई लक्षित गर्दै दुइ होटल खुलेका थिए ।


 

विवाह समारोहका अधिकांश कार्यक्रम सिंहदरबारमा नै गरिएको थियो । दुलाहा युवराज वीरेन्द्रको सवारीको लागी चाँदीले ढाकिएको विशेष प्रकारको हौदा बनाइएको थियो । नारायणहिटी देखी सिंहदरबार सम्मको वरियातको कार्यक्रममा हजारौं सहभागी भएका थिए ।

दुइ दिन लामो वैवाहिक कार्यक्रममा सयौं पुरोहितहरु खटिएका थिए । अग्नीमा सात फेरे लिए पछि विवाहको प्रथम चरण समाप्त भएको थियो । दोश्रो दिन करिब २०० जना परिवारका सदस्यले दुलाहा दुहीको पाउको जल खाने कार्यक्रम गरिएको थियो ।

 

सन्दर्भ सामाग्री

फेब्रुअरी २५, १९७०, न्यूयोर्क टाइम्स
विभिन्न अनलाइनहरू

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  3. फाल्गुन २९, दशरथ रंगशालामा ९३ जना खेलप्रेमीले ज्यान गुमाएको दिन
  4. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  5. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  6. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  7. जंग बहादुरले जीवनभर दाँया खुट्टाको जुत्ता बायाँको भन्दा एक नम्बर ठुलो लगाउन पर्यो
  8. जङ्गबहादुर राणाको तलब थियो होला ? त्यो बेला एक रुपैँयामा २२ माना मसिनो चामल आउँथ्यो।
  9. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  10. तानाशाह हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर