यसरी बनेथ्यो सिंहदरबार

पढ्न लाग्ने समय : 8 मिनेट

१९औँ शताब्दीको विशिष्ट वास्तु नमुनाका रूपमा चित्रित सिंहदरबार विक्रम संवत् २०३० साल असार २५ गते आगलागी हुनुपुर्व एसियाकै सबैभन्दा ठुलो प्रशासनिक भवन थियो ।  १७ सय कोठा तथा विभिन्न चोकहरू भएको भव्य दरबार बनाउन १ वर्ष लागेको थियो । हालको पश्चिमी मोहडा निर्माण गरिएकै बखतको संरचना हो । सिंहदरबार भित्रको १ नम्बर चोक भित्रका भागहरू पछि निर्माण गरिएका हुन् । आगलागीले ध्वस्त भएको मुलुकको प्रशासनिक केन्द्रको पुनःनिर्माणका लागि देशभरका हरेक घरबाट १०-१० रूपैँया संकलन गरी प्रधानपञ्चहरूले  काठमाण्डाै पठाएका थिए भनिन्छ । 


वि.सं. १९५८ असार १० गते बुधबारका दिन चन्द्रशमशेर जबरा सत्तामा आए। सत्तामा आउनासाथ उनले आफ्ना निमित्त एक दरबारको आवश्यकता महसुस गरि प्रति रोपनी ९० रूपैयाँका दरले ३५० रोपनी जमिन सिंहदरबारका लागि खरिद गरे। सुरूमा चन्द्रशमशेरले आफू बस्न लायकको ठिक्कको दरबार बनाउन चाहेका थिए। तर, बनाउँदा बनाउँदै भव्य दरबार निर्माण गराए। जे जत्रो दरबार बने पनि खर्च चाहिँ तत्काल ५० लाख रुपैयाँभन्दा बढी चन्द्रशमशेरको त्यस दरबारको निर्माणमा खर्च भएन किनकी त्यसमा प्रयोग भएका सम्पूर्ण काठ काठमाडौं नजिकको ‘छरिया’ जंगलबाट कटानी गरियो र ढुवानीको काम पनि बेगारीद्वारा गराउँदथे, जसलाई पेटभरि ढिडो र नुन खर्चमात्र दिनु पर्दथ्यो। सिकर्मी, डकर्मीको काम पनि सेना, प्रहरी, पिपा, तथा कैदीहरुद्वारा गराउँथे।

ज्यालामा जसलाई काम लगाइयो तिनलाई पनि दैनिक चार पैसादेखि छ पैसा भन्दा बढी दिइएको थिएन। बीचबीचमा राँगो खानेलाई राँगो, खसी खानेलाई खसी काटेर भोज भने अवश्य खुवाउने गरिन्थ्यो। चन्द्रशमशेरको लागेको खर्च भनेकै किला, काँटा रेलिङ, पाइप, फलाम आदिमा भयो जुन सोझै भारतबाट किन्नुपर्थ्यो।

सिंहदरबार निर्माण भइसकेपछि एक दिन चन्द्रशमशेरले आफ्नी कान्छी बडामहारानी बालकुमारी देवीलाई साथमा लिएर दरबारको कौसीमा पुगे। त्यहाँबाट बाघदरबार देखियो। चन्द्रशमशेरले भने, ‘ऊ बाघदरबार’ भन्दै हातले औल्याएर बालकुमारी देवीलाई देखाए। बालकुमारी देवीले, ‘महाराज, त्यो बाघदरबार हो भने यो दरबारको नाम सिंहदरबार राखे कसो होला?’ भनिन् । उनको प्रस्ताव चन्द्रशमशेरलाई उचित लाग्यो र नवनिर्मित दरबारको नाम ‘सिंहदरबार’ राखियो !

सिंहदरबार निर्माण कार्य सम्पन्न भएपछि चन्द्रशमशेरले एकदिन ‘भारदारी सभा’ गठन गरी सबै समक्ष प्रस्ताव राख्दै भने कि-'आज उप्रान्त श्री ३ महाराज, प्रधानमन्त्री जो हुन्छ, उनी यसै दरबारमा बस्नेछन्। तसर्थ यो दरबार मैले नेपाल सरकारलाई आजै बेचिदिएँ।' चन्द्रशमशेरले सिंहदरबार नेपाल सरकारलाई बिक्री गरी राष्ट्रको ढुकुटीबाट २ करोड रूपैयाँ झिके। यसरी चन्द्रशमशेरलाई सिंहदरबार निर्माण गरी बिक्री गर्दा डेढ करोड नाफा भयो। जंगबहादुरले वि.सं. १९२५ मा भाइ, छोरा, भतिजा, भारदार जंगी, निजामती, गुरु, पुरोहित, सन्त, महन्त, साहस–महाजन, शिक्षक, भलाद्मी, रैती, दुनियाँ सकललाई जम्मा गराउनका लागि ठाउँ ठाउँमा सूचना टाँस गरे, इस्तिहार जारी गरे, ढ्याङ्ग्रो पिटाए र टुँडिखेलको त्यो ऐतिहासिक खरीको रुखको चौतारामुनि ठूलो भेला गराए। उक्त जनभेलालाई सम्बोधन गर्दै जंगबहादुरले भनेका थिए, ‘देशमा संकटकालीन अवस्था आई परेमा, दैवी प्रकोप परेमा मात्र राष्ट्रको ढुकुटीको प्रयोग गर्नु अन्यथा नगर्नू, बरु पछि हुने शासकले यस ढुकुटीमा थप गर्दै जानू। मैले आजका मितिमा यो ढुकुटीमा जम्मा ११ करोड रूपैयाँ राखिदिएको छु भन्दै सार्वजनिक घोषणा गरे।

त्यतिबेला त्यो ढुकुटीलाई (कौसी तोखाखाना) भनिन्थ्यो। त्यसै कौसी तोखाखानाबाट चन्द्रशमशेरले २ करोड रुपैयाँ झिकेका थिए।

युरोपेली शैलीमा बनेको छ। चन्द्रशमशेर शिकार तथा कलाका सौखिन भएकाले त्यस बेला उनले यसका भित्ताहरू शिकार गरिएका जनावरहरू तथा युरोपेली शैलीका चित्रकलाहरूले सजाएका थिए। बत्ती तथा अन्य श्रृंगारका वस्तुहरू युरोपबाट मगाईएको थियो।


 

चन्द्रशमशेरको २९ वर्षे शासनकालमा २८ वर्ष सिंहदरबारमै बित्यो र वि.स. १९८६ मंसिर ३० गते सोमबार उनको मृत्यु सिंहदरबारमै भयो। त्यसपछि भीमशमशेर प्रधानमन्त्री भएर उनी टंगाल दरबारबाट सिंहदरबारमा सरे। वि.स. १९८९ भाद्र ११ गते भीमशमशेरको पनि सिंहदरबारमै मृत्यु भएपछि जुद्धशमशेर प्रधानमन्त्री भएर जाउलाखेल दरबारबाट सिंहदरबार सरे।

यसै दरबारबाट जुद्धशमशेरले दशरथचन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र गंगालालको मुद्दाको सुनुवाइका लागि विशेष अदालत गठन गरी उनीहरुको मृत्युदण्डको फैसला गरिएको थियो जुन पछि सदर भयो अर्थात उनीहरुलाई मृत्युदण्ड दिइयो ।

वि.स. २००२ मंसिर १४ गते जुद्धशमशेर आफूलाई राजर्षि संज्ञा दिँदै अर्गली लागेपछि पद्मशमशेर नियमानुसार सिंहदरबार सर्नुपर्थ्यो तर उनी सरेनन्। आफ्नै विशालनगर दरबारमा बसे। वि.स. २००४ फागुन १८ गतेका दिन पद्मशमशेर औषधि उपचारका निमित्त भारततर्फ लागे। उनी भारततर्फ हुँदा याने वि.सं. २००५ वैशाख १ गतेका दिन मोहनशमशेर प्रधानमन्त्री हुनु अगावै याने ‘मुख्तियारी’ कै पदमा उनी सिंहदरबार सरे।

वि.स. १९६० मा मोहनशमशेरकै बुवा चन्द्रशमशेरले सिंहदरबार नेपाल सरकारलाई बिक्री गर्दा जो श्री ३ महाराज तथा प्रधानमन्त्री हुन्छ ऊ सिंहदरबारमा बस्न पाउनेछ भन्ने नियम बनाएका थिए तर त्यो नियम चन्द्रशमशेरकै पुत्र मोहन शमशेरले तोडे। उनी महाराज तथा प्रधानमन्त्री नबन्दै मुख्तियारी पदमा हुँदै पद्मशमशेर भारततर्फ औषधि उपचारमा गएको मौका छोपी उनी जबरजस्ती महाराजगञ्जस्थित आफ्नो निवासबाट सिंहदरबार सरे।

वि.स. २००५ वैशाख १६ गते पद्मशमशेरले भारतको राँचीबाट राजीनामा गरी पठाए। पछिमात्र मोहनशमशेर सिंहदरबारका वैध उत्तराधिकारी भए।

वि.सं. २००९ फागुन ७ गतेपछि सिंहदरबार तत्कालीन ‘श्री ५ को सरकार’को स्वामित्वमा आयो र मोहनशमशेरलाई शीघ्रातिशीघ्र सिंहदरबार छाड्नुपर्ने आदेश दिइयो। त्यसपछि मोहनशमशेर महाराजगञ्जस्थित आफ्नै लक्ष्मी निवासमा फिर्ता गए। त्यतिबेलादेखि सिंहदरबार श्री ५ को सरकारको सचिवालयमा परिणत भयो। वि.सं. २०३० असार २५ गते सोमबारका दिन सिंहदरबारमा आगो लाग्यो।



आगलागीबाट बचाउनका लागि भगीरथ प्रयास गरिए पनि त्यो प्रयास सफल भएन। त्यसपछि अगाडिको भागमात्रै भएपनि बचाउनका लागि तोप हानीहानी पछाडिको भाग भत्काएर अगाडिको भाग जोगाइयो, बाँकी सिंहदरबार जलेर खरानी भयो। अगाडिको भागसँगै जोडेर अलिकति पछि निर्माण कार्य गरियो। सिहंदरबार हाताभित्र प्रधानमन्त्रीको कार्यालय सहित अधिकांश मन्त्रालय राखिएका छन् । 

वि.संं २०७२ को प्रलयकारी भुकम्पले क्षत विक्षत बनाएको सिंहदरबारको पुननिर्माण जारी छ ।

सन्दर्भ सामाग्री

सेतोपाटी
पुरूषोत्तम शमशेर जबरा
www.bilder-aus-nepal.de
संजीव शाह

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  3. फाल्गुन २९, दशरथ रंगशालामा ९३ जना खेलप्रेमीले ज्यान गुमाएको दिन
  4. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  5. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  6. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  7. जंग बहादुरले जीवनभर दाँया खुट्टाको जुत्ता बायाँको भन्दा एक नम्बर ठुलो लगाउन पर्यो
  8. जङ्गबहादुर राणाको तलब थियो होला ? त्यो बेला एक रुपैँयामा २२ माना मसिनो चामल आउँथ्यो।
  9. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  10. तानाशाह हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर