जनतालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री रोए र रेडियो नै बन्द हुनपुग्यो

पढ्न लाग्ने समय : 4 मिनेट

महाराज (श्री ३ पद्मशमशेर) बाट जनतालाई रेडियोबाट विक्रम संवत् २००४ को अन्त्यतिर एक दिन भाषण दिने भनी प्रचार भएको थियो। महाराजधिराज (श्री ५ त्रिभुवन) लाई पद्मशमशेरले अगाडि नै यो खबर बिन्ति चढाइसक्नुभएको थियो। त्यसदिन महाराजधिराज मलाई पनि कार्यालयमै राखी बक्सी रेडियो खोलेर राज होइबक्सेको थियो। भाषण सुन्नका लागि रेडियो भएकाहरु सबै रेडियो खोली बसेका थिए। रेडियो नभएका जनताका लागि बिजुली अड्डा अगाडि टुँडिखेलमा लाउडस्पिकर जडान गरिएको थियो। महाराजको भाषण सुन्न टुँडिखेलमा जनताको ठूलो भीड एकत्रित भएको थियो।

ठीक समयमा रेडियोमा महाराजको भाषण सुरु भयो। पद्मशमशेरले ‘मेरा प्यारा प्रजा’ मात्र के भन्नुभएको थियो, महाराज रुनुभएको आवाज रेडियोमा आयो र रेडियो बन्द भयो। महाराजाधिराजबाट मलाई हुकुम भयो, ‘महाराज केही गर्न खोज्छ, तर धेरै डरपोक छ। भाइहरुदेखि डराएर बोल्न सकेन जस्तो लाग्छ। भाइहरुले निकै तर्साइराखेको छ।‘ मोहनशमशेरको गुटबन्दी बलियो हुँदै गएको सबैलाई थाहा थियो।

दोस्रो विश्वयुद्धको बेला
---------------------------

त्यसबेला दोस्रो विश्वयुद्ध भइराखेको थियो। अङ्ग्रेज सरकारले युद्ध जितेको खबर पाउनासाथ काठमाडौँमा जुवा खोलिदिने गरिन्थ्यो। उक्त महायुद्धमा नेपालले अङ्ग्रेज सरकारलाई सैनिक मद्दत पठाएको थियो। लडाइँको समयमा बजारमा कुनै चिजको अभाव हुन दिइएको थिएन।

सरकारबाट तोकिएकै मोलमा बजारमा भाउ बसेको थियो। शिक्षातिर पनि ठाउँठाउँमा विद्यालय खोल्न स्वीकृति दिइएको थियो। महाराज जुद्धशमशेर दिनहुँ साँझतिर हात्तीमा टुँडिखेल घुम्न जानुहुन्थ्यो। सहरतिर पनि घुम्न जानुहुन्थ्यो। तरकारी बजारका लागि ठाउँ तोकी बन्दोबस्त मिलाइएको थियो।

भूइँचालोबाट क्षति भएका सबै भवनको मर्मत मन्दिरको जिर्णोद्वार र पुनर्निर्माण गरिएको थियो। हाल नेपाल बैँक भएको ठाउँमा रिसल्लाको तबेला थियो। उक्त तबेला हटाई त्यहाँ उद्योग प्रदर्शनी स्थल बनाइएको थियो। सोही ठाउँमा पछि तरकारी बजार निर्माण गरियो। जनतामा बजार जाने बानी बसाउन महाराज आफै हात्ती चढी तरकारी खरिद गर्न आउनुहुन्थ्यो। त्यसबाट मानिसहरुमा ठूलो प्रभाव परेको थियो।

सलाम हैन नमस्ते गर्नू
------------------------

(राजा त्रिभुवन परिवारसहित दिल्लीमा शरण लिएको बेला)

दिल्लीमा श्री ५ त्रिभुवनको राजकीय सम्मानका लागि राम्रो बन्दोबस्त गरिएको थियो। भारतका प्रधानमन्त्रीले विमानस्थलमा मौसुफको स्वागत गर्नु भएको थियो।

त्यहाँबाट श्री ५ महाराजाधिराज हैदरावाद हाउसमा सवारी भयो। श्री ५ महाराजाधिराको दिल्ली सवारी हुने खबर पाउनासाथ भुवन र म पनि दिल्ली जान हवाइजहाजको टिकट लियौँ।

जनरल सुवर्ण, महाविर हिरण्यहरु सबै बिहानको फ्लाइटमा दिल्ली गइसक्नुभएको थियो। भुवन र म बेलुकाको फ्लाइटमा गयौँ। दिल्ली पुगेर हामी दुबैजना सोझै हैदरावाद हाउसमा पुग्यौँ।

त्यहाँ ढोकामा कडी कडाउ थियो। हाम्रो हाजिर पुर्‍याउने पालेलाई भनेँ । म आएको जाहेर हुनासाथ सरकारले भित्र बोलाइ बक्सियो। हैदरावाद हाउसको लबीमा जनरल हिरण्य र सूर्यप्रसाद उपाध्याय पनि महाराजाधिराजको दर्शनका लागि पर्खिरहनु भएको थियो। जनरल हिरण्यप्रसाद र सूर्यप्रसादसँग मेरो चिनजान थिएन त्यहाँ हामीबीच परिचय भयो।

एकैछिनमा भित्रबाट मलाई मात्र बोलावट भयो। भित्र बैठकमा श्री ५ त्रिभुवन तीन छोराका साथ होइबक्सन्थ्यो। भित्र पुग्नासाथ सरकारहरुमा नेपाली रिती अनुसार दुइ हातले झुकेर सलाम गरेँ। श्री ५ त्रिभुवनबाट हुकुम भइबक्सियो 'दयाराम! अब सलाम गर्ने होइन नमस्ते गर्ने।'

मौसुफबाट बाहुली जोडी नमस्ते गरी देखाइ बक्सियो। हुकुम भए अनुसार सबै सरकारमा नमस्कार गरी दर्शन गरेँ।

(विक्रम संवत् १९९५ देखि २०१७ सालसम्म नारायणहिटी राजदरबारमा मीर सुब्बा रहेका दयारामभक्त माथेमाले लेखेको अप्रकाशित दस्तावेज दया फाउन्डेसनले 'अनुभव र अनुभूति : जीवनयात्राका ऐतिहासिक मोड' शीर्षकको पुस्तकका रुपमा लोकार्पण गरेको छ। माथि उद्धृत अंशहरु पुस्तकबाट लिइएको सामाग्री)

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  3. फाल्गुन २९, दशरथ रंगशालामा ९३ जना खेलप्रेमीले ज्यान गुमाएको दिन
  4. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  5. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  6. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  7. जंग बहादुरले जीवनभर दाँया खुट्टाको जुत्ता बायाँको भन्दा एक नम्बर ठुलो लगाउन पर्यो
  8. जङ्गबहादुर राणाको तलब थियो होला ? त्यो बेला एक रुपैँयामा २२ माना मसिनो चामल आउँथ्यो।
  9. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  10. तानाशाह हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर