सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो

पढ्न लाग्ने समय : 4 मिनेट

काठमाडौं उपत्यकाभित्र दर्जनौं ऐतिहासिक दरबार छन् । ती दरबारमध्ये कतिपय भग्नावशेष भैसकेका छन् भने कतिपय संरक्षणविहीन अवस्थामा छन् । विश्वज्योति चलचित्र हलसँगै एउटा भव्य गेट देखिन्छ जुन गेट सेतो दरबारको हो ।

 


जमलमा अहिले देखिने भव्य प्रवेशद्वार, यो सेतो दरबार पस्ने मुल द्वार थियो ।

उक्त गेटभित्र कुनै बेला भव्य सेतो दरबार थियो । ३ सय ७५ रोपनी जमिनमा फैलिएको उक्त दरबारको झिनो अंश अहिले देख्न सकिन्छ जमल क्षेत्रमा । दरबार भएको क्षेत्रमा त्यहाँ अहिले दर्जनौं घर देखिन्छन् । वि.सं. १९४२ मा वीरशमशेरले आफ्ना छोरा गेहेन्द्रशमशेरका लागि उक्त दरबार बनाउन लगाएको इतिहास छ । सेतो दरबार वि.सं. १९९० को बैशाखमा भएको आगलागी तथा माघमा आएको महाभूकम्पको चपेटामा परेको थियो । दरबारको प्रवेशद्धार हेरेर नै कल्पना गराैं दरबार कति भव्य हुँदो हो...


सेतो दरबार

नेपालको श्री ३ महाराज भएपछि वि.सं. १९४२ मा सेतो दरबार अन्य थुप्रै दरबारहरू बनाउन लगाएका थिए जसमा फोहोरा दरबार, चारबुर्जा दरबार, लाल दरबार लगायत थिए ।

वि.सं. १९४२ मा तत्कालीन प्रधानमन्त्री वीर शमसेरले प्रति रोपनी रु. ६० का दरले ३७५ रोपनी जग्गा खरिद गरी निर्माण गराएको यस दरबारमा ठूला ठूला क्रिस्टलका झालर र बार्दली बार, इटालियन मार्वलको टेबल, बेल्जियमका ऐनाहरु, बैठकमा २२ फिट अग्ला र १२ फिट गोलाकारका ८ वटा सेता स्फटिक खम्बा जडान गरिएका थिए । यूरोपबाट मगाइएका यी सामानहरू भारतको सोनपुरसम्म रेलद्वारा र सोनपुरबाट भीमफेदीसम्म गाडा, बग्गी, हात्ति र त्यहाँबाट भरियाद्वारा नै बोकाएर काठमाण्डौ ल्याइएका थिए ।


सेतो दरबार

वि.सं. १९९० मा आगलागी भएर ध्वस्त हुनुपुर्व यस दरबारको अवलोकन गर्न विदेशी पाहुनाहरू पनि लालयित हुने गर्दथे र अवलोकनपछि यसको सजावट देखेर आश्चर्यचकित हुन्थे । १९९० साल बैशाखमा नेपालले ठूलो क्षति व्यहोर्‍यो । तोप हानेर दरबारको पूर्व भाग भत्काइदिएको भए सेतो दरबारका बैठकहरू बच्थे । तर पछिल्तिर श्री ५ महाराजाधिराजको दरबार (नारायणहिटी) भएकाले श्री ३ महाराज जुद्धशमशेरले तोप हान्ने आदेश दिइहाल्ने आँट गरेनन् ।

त्यहाँ आगलागी हुँदा जंगबहादुरले बेलायतमा बनाएर ल्याएका आफ्ना ठूलठूला मुहार चित्रहरू (पेण्टिङ) पनि जलेर खरानी भए । त्यहाँ रहेका अत्तर फुटेर बग्दा त्यसको वासनाले तीनै सहर मगमगाएको थियो भन्ने कथन रहेको छ। त्यही सेतो दरबार आगलागीमा परेपछि जुद्धशमशेरले नेपालमा पहिलोपटक जुद्ध वारुणयन्त्र (दमकल) झिकाएका हुन् । अहिलेपनि काठ उपत्यका भएका दमकलहरू जुद्ध बारूण यन्त्रका नामले चिनिन्छन् ।

यो पनि पढ्नुहोस् २ बलमा खेल जित्ने विश्वको एकमात्र क्रिकेट टोली, 'नेपाल'

आगलागीपछि ध्वस्त भएको यो दरबारको केही भागमा हाल एन.आई.डी.सी. विकास बैङ्कको कार्यालय रहेको छ । जमल–दरबारमार्ग ओहोर–दोहोर गर्दा विश्वज्योति हलको छेउमा देखिने पुरानो द्वार त्यसकै एउटा संरचना हो, जसभित्रको ३७५ रोपनी जमिनमा कुनै बेला कलकत्ताको वेल्भेडियर प्यालेस जस्तै भव्य सेतो दरबार र फोहोरा दरबार थिए ।

चारबुर्जा दरबारमा बाल्यकाल बिताएका इतिहासकार पुरुषोत्तम शमशेर जबरा १९९० बैशाखमा आगलागी र माघमा महाभूकम्पको चपेटामा परेको सेतो दरबारको मूल बैठक कक्षको पुनर्निर्माणमा मात्र ऊबेला रु.१ करोड लाग्ने अनुमान गरिएको सम्झनुहुन्छ ।

सन्दर्भ सामाग्री

कमल दीक्षितको स्मरण
मजलिसको आँखा
नेपाल हिमाल
शिव रेग्मीको स्मरण
नेपाल साप्ताहिक
ब्रिटिश लाइब्रेरी
मदन पुरस्कार पुस्तकालय
विकिपिडिया

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  3. फाल्गुन २९, दशरथ रंगशालामा ९३ जना खेलप्रेमीले ज्यान गुमाएको दिन
  4. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  5. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  6. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  7. जंग बहादुरले जीवनभर दाँया खुट्टाको जुत्ता बायाँको भन्दा एक नम्बर ठुलो लगाउन पर्यो
  8. जङ्गबहादुर राणाको तलब थियो होला ? त्यो बेला एक रुपैँयामा २२ माना मसिनो चामल आउँथ्यो।
  9. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  10. तानाशाह हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर