डाक्टर के.आइ. सिंह अर्थात सन्की प्रधानमन्त्री !

पढ्न लाग्ने समय : 17 मिनेट

बैशाख १३ गते कुँवर इन्द्रजित सिंहको जन्मजयन्ती । शायद थोरैले मात्र उनको जन्मजयन्तीको बारेमा चासो राख्नेछ । के.आई. सिंह सुदुर पश्चिम डोटीमा जन्मेका भए पनि पोखरामा पनि उनको नामको चर्चा उनको नाममा भएको पुलले गर्दा हुने गर्छ ।

डोटी जिल्लाको ड्म्राकोटमा कुँवर नरध्वज शाहीको छोराको रुपमा १९६३ बैशाख १३ मा जन्मेका थिए कुँवर इन्द्रजित सिंह । बाबुले शुरुमा कुँवर इन्द्रध्वज शाही नाम राखिदिए पनि आफ्नो नाम पछि इन्द्रजित शाही हुदै कुँवर इन्द्रजित सिंह भए तर उनको सुविख्याती भने के.आइ सिंह नामले नै भयो । उनको जन्म भएको डुम्राकोटको इलाकालाई केआइसिंह गाँउपालिका नामाकरण गरिएको छ ।


 

सानै उमेरमा भारतको लखिमपुर गएका उनी पढाइ सकिएर अंग्रेज सेनामा भर्ति भए । सेनाको जागीर छोडेर होमियोप्याथीका डाक्टर बने । त्यसपछि व्यवसायको सिलसिलामा बर्मा बस्न गएर बसे । दोश्रो विश्व युद्धको समाप्तीपछि भारत फर्केर नेपाली सिमा नौटनवामा औषधी दुकान खोलेर बसे ।

नौतनवा बसाइकै क्रममा नेपालीहरु बढि उपचारमा आउने हुँदा उनलाई नेपाल सम्बन्धी ज्ञान पनि बढ्यो साथै नेपाली राजनितीमा रुचि पनि जाग्यो । राणाविरोधी गतिविधीमा लागेको चाल पाएपछि राणा सरकारले उनलाई नेपाल प्रवेशमा रोक लगायो । राणाविरोधी भएको हुँदा कांग्रेसीहरुको पक्षमा रहेर लडेका थिए इन्द्रजितले । तसर्थ क्रान्तिको समय पश्चिम नेपालको कमाण्डरको रुपमा भैरहवाबाट राणा विरोधी मोर्चामा लागिरहे । यता अर्का कमाण्डरको रुपमा गोपालशम्शेर राणा पनि थिए । बडाहाकिम रुद्रशम्शेरको छोरा भएको हुँदा उनको आफ्नै हैकम थियो । तर यो के.आई. सिंहलाई सह्य भएको थिएन् । यि दुइ कमाण्डर बीचको विवाद साम्य पार्न क्रान्तीका डिक्टेटर रहेका मातृका प्रसाद कोइराला गोरखपुर गए । तर दुबैको वैमनश्यता साम्य पार्न सकेनन् । पार्टी हाइकमाण्डले के.आई. सिंहलाई सम्झाउने कोशिस गरे तर सकेनन् । यसै बीच राजाको दिल्ली आगमन भयो । भारतको सहभागितामा गोप्य रुपमा राणा, राजा र भारतको सम्झौता भयो । राजाको स्वदेशी फिर्ती पछि उनले खुलेरै दिल्ली सम्झौताको विरोध गर्न थाले । राणा शासनको समाप्ती पछि पनि मोहनशम्शेरलाई नै प्रधानमन्त्री बनाइदा उनको चित्त बुझेको थिएन् । उनले यसको खुलेरै विरोध गरेका थिए ।

प्रजातन्त्रको घोषणा लगत्तै पश्चिम कमाण्डको जिम्मेवारी उनै गोपालशम्शेरलाई दिइयो । यसै बीच बैमनश्यता रहेको गोपालशम्शेरले पश्चिम कमाण्डको प्रमुख भए पछि प्रजातन्त्र घोषणा भएको भोलिपल्ट नै २००७ फागुन ८ गते दिउँसो ४ बजे उनले भैरहवामा आक्रमण गरे । यो आक्रमणमा नेपाली सेनाका ४ जना सिपाहीको मृत्यु भयो । साथै के.आई. सिंहको समुहका ९ जना मारिए ९ जना समातिए । यसको लगत्तै नेपाल सरकारले भारत सरकारलाई अनुरोध गरि भोलीपल्टै फागुन ९ गते उनी सहित ३५७ जना समातिए । भारतीय क्षेत्रमा नै लुकेर बसेको हुँदा भारतीय सेनाले समातिए पछि उनलाई नेपालमा सुपुर्दगि गरियो । यसपछि भैरहवा जेलमा रहेका उनि असार २७ मा जेल तोडेर भागे । यसरी भैरहवा जेलबाट भागेका सिंह र अन्य कैदीहरुसंग सेनाका लेप्टिनेन्ट भगवान सिंह क्षत्रीको सैनिक समुहले साउन ६ गते ज्यामगढीमा जम्काभेट हुँदा भगवान सिंहलाई घाइते बनाएर ९ सैनिकलाई पनि अपहरण लग्न सफल भएका थिए । सिंहको समुहले सैनिकहरुको हातहतियार खोसेर भोलिपल्ट नै रिहा गरिदिए । गोपालशम्शेरले पठाएका केही सैनिकहरु तथा अन्यलाई जासुसको रुपमा पठाए । सैनिकहरुमा राजदल पल्टनका हवल्दार तेजबहादुर खड्का तथा पाल्पा सेनामा रहेका हवल्दार मानबहादुर कार्की साथै बालकोट गुल्मीका षडानन्द जैसी, जनार्दन जैशी तथा लीलादेवी जैशीले के.आई. सिंहको यात्रा तथा अन्य विवरण उपलब्ध गराउँदै अगाडी बढेका थिए । सरकारले वार्ता गर्न चाहेको छ भन्ने समाचार पठाइयो । वार्ताको प्रतिक्षामा निःशस्त्र बसेका समुहलाई २००८ साउन २५ मा काठमाडौबाट गएको मेजर क्षत्रबहादुरको सैनिक समुह तथा पाल्पामा रहेको मेजर तोरणशम्शेरको समुहले धोरपाटन नजिकै भ्याकूर खोलाको घोरभूजीमा समाउन सफल भए । के.आई. सिंह वास्तवमा भैरहवा जेलबाट भागेर तिब्बततर्फ लागेका थिए । उनको साथ भेटिएको नक्शा तथा अन्य कागजातहरुले गर्दा तिब्बत भाग्न लागेको देखिएको थियो । यसरी समातिएका उनी सहितको समुहलाई पछि साउन २७ मा पाल्पामा ल्याइयो । साउनको अन्त्यमा पाल्पाबाट पोखरा हुँदै काठमाडौ लग्ने योजना थियो । तर वर्षातको मौसममा हिँडाएर ल्याँउदा के.आई. सिंहको पाइला जुकाको टोकाइ तथा अन्य घाउहरुले गर्दा हिँड्नै नसक्ने भएपछि दुइ हप्ता पोखरामा उपचार गरेर घाउ निको भएपछि बल्ल काठमाडौ तर्फ लगियो, टोली भदै २७ मा राजधानी पुग्यो । काठमाडौमा के.आई. सिंहलाई सिंहदरबारमा राखियो भने अन्य सहयोगीहरुलाई श्रीमहल, नक्खु तथा सेन्ट्रल जेलमा राखियो ।

भैरहवा जेलबाट के.आई. सिंहलाई भाग्ने अवस्था सिर्जना गर्नु पछाडी पनि केही घटनाचक्रहरु छन् । काठमाडौमा रहेको कांग्रेसको एउटा समुह के.आई. सिंहलाई ससम्मान रिहा गर्ने र नेपाली कांग्रेसभित्र नै समाहित गर्ने तैयारीमा लागेको थियो । जसको लागि सूर्यप्रसाद उपाध्यायको अध्यक्षतामा छानबिन समिति गठन गरिएको थियो । यसै बीच उपाध्याय खाद्य तथा कृषी मन्त्रीमा नियुक्त हुँदा छानबिन कार्यमा ढिलाई भएको थियो । अन्ततः मन्त्री कै रुपमा कार्यरत उपाध्यायले गृहमन्त्री विश्वेश्वर प्रसाद कोइरालालाई असारको दोश्रो सप्ताह प्रतिवेदन पेश गर्यो । प्रतिवेदनको गोप्य रिपोर्टमा सरकारको तर्फबाट सूर्यप्रसाद उपाध्याय भैरहवा जेल गएर के.आई. सिंहलाई भेट गर्ने तथा सम्मानपूर्वक रिहा गर्ने थियो । तर सरकार भित्रकै अर्को समुह भने यसको लागी तयार थिएन । यदि के.आई. सिंहको प्रवेश कांग्रेसमा भयो भने उ बलियो नेताको रुपमा आउने छ र आफूहरुको पलायन शुरु हुनेछ भन्ने सोंचमा ती समुहले जेलमा रहेका सैनिकहरुको सहयोगमा भाग्न सहयोग पुर्याइयो । भाग्ने सहयोग गर्ने सैनिकहरुलाई हतियार सहित के.आई. सिंहको समुहमा साथ लाग्न लगाइयो । यस घटनामा विरोधी कांग्रेसहरुको एउटा समुह र सिमापारीको भारतीय कम्यूनिष्टका स्थानिय नेताहरुको हात थियो भनिन्छ । वास्तवमा के.आई. सिंहलाई बलियो कम्यूनिष्टको नेताको रुपमा उभ्याउने आश्वासनमा सरकारको विरुद्ध सशस्त्र आन्दोलन गर्ने उक्साइयो । तर के.आई. सिंह मानेनन् । उनी धेरै हताहतको पक्षमा थिएनन् । तसर्थ चुपचाप तिब्बततर्फ लाग्ने तयारीमा लागे ।


 

के.आई. सिंहलाई जेलबाट भगाउन सहयोग गर्नेहरुमा नीरजंग राणा, कुम्भसिंह गुरुङ तथा गोपालशम्शेर राणाको पनि हात थियो भनिन्छ । के.आई. सिंहको कांग्रेस प्रवेशले अर्कै मोड लिन सक्ने तथा पार्टीमा उनै हावी हुने डर धेरैमा थियो ।

के.आई. सिंहलाई सिंहदरबारमा थुनिए पनि उनका बलिया सहयोगीहरु रामप्रसाद राई तथा खड्गबहादुर गुरुङलाई अन्यत्र राखिएको थियो । सिंहदरबारमा थुनिंदा एक पटक विपीसंग भेट्न चाहेको भन्थे तर विपीले भेट्न खोजेनन् । सिंहदरबारमा विपीको कार्यालयको तल छिंडीमा नै के.आई. सिंह थुनिएका थिए । तर विपीले गणेशमानलाई नियमित भेट्न लगाए तर आफू भेट्न चाहेनन् । यो रहस्य नै देखिन्छ ।

विद्यार्थी आन्दोलनको क्रममा कार्तिक २० गते चिनिँयाकाजीको सैनिकको गोलीबाट मृत्यु भएपछि गृहमन्त्रीको हैसियतमा विपी माथी दबाव सिर्जना भयो । अन्ततः गृहमन्त्री विपीले राजिनामा दिए । यसरी मोहनशम्शेरको नेतृत्वको सरकार वि.सं. २००८ कार्तिक २६ गते ढल्यो । मंसिर १ गते मातृकाको नेतृत्वमा नयाँ सरकार बन्यो । मातृकाको सरकार बनेपछि असन्तुष्ट समुहहरु विपीको सरकार बनाउने कसरतमा लागे । २००७ सालको क्रान्तीमा राणा विरुद्ध लड्ने जनमुक्ति सेनालाई प्रजातन्त्र पश्चात रक्षादल बनाइएको थियो । यहि रक्षादलको अफिसरहरुको साथै ज्ञानबहादुर याक्थुम्बा, बी.बी. चेम्जोङ, सुरवीर राई, डी.बी. राईको समुह राती नै मातृकाको सरकारलाई अपदस्थ गराइ विपीको नेतृत्वमा सरकार बनाउने उद्धेश्य सहितको प्रस्ताव बोकेर विपी निवास गए । तर रात निकै कटिसकेको हुँदा भोली सल्लाह गरौंला भनेर फिर्ता पठाइदिए । यो समुहको अप्रत्यक्ष रुपमा चेतावनी पनि दिएको थिए । यदि तपाँइले यो प्रस्ताव अस्विकार गर्नुभयो भने देशमा फेरी प्रजातन्त्र संकटमा पुग्नेछ । विपीले मानेनन्, असन्तुष्ट रक्षादल आक्रोशित बनिरह्यो ।

माघ ४ मा रक्षा दलका विद्रोही मध्येका रामप्रसाद राई तथा अग्निप्रसाद खरेल समातिए । २००८ को एकरात रक्षादलको सिंहदरबारमा रहेको ब्यारेकमा रहेका तीन बटालियनका २ हजार सात सयजति रक्षा दलका सैनिकले विद्रोहको शुरुवात गरे । रक्षादलले सबैभन्दा पहिले सिंहदरबर भित्र कैद भएका कैदीहरुलाई मुक्त गर्यो । कैदी मध्यका के.आई. सिंहलाई उनीहरुले अगुवाको रुपमा उभ्याए । रामप्रसाद राई एवं अग्नीप्रसाद खरेललाई पनि रिहा गराए । समुह बलियो हुँदै गयो । रक्षादलले बिजुली अड्डा कब्जा गरेर राती उपत्यकालाई अन्धकार बनाइदिए । त्यसपछि आकाशवाणी र टेलिफोन पनि कब्जा गरेर सञ्चारबाट बन्देज गराइदिए । रातारात विद्रोहीहरुले ठिमीको गठ्ठाघर, सानो टुँडिखेलको जंगी अड्डा, तोपखाना, हतियार भण्डार, विमानस्थल, मुलुकी खाना तथा सिंहदरबारको सेक्रेटरियट पनि कब्जा गरिसकेका थिए । बिहानसम्ममा सबैजसो प्रमुख कार्यालय रक्षादलको नियन्त्रणमा आइसकेको थियो । धेरैजसो मन्त्री तथा प्रधानमन्त्री सुरक्षाको लागी राजदरबारमा शरण लिन पुगेका थिए ।

बिहान गणेशमान र टंकप्रसादलाई नियन्त्रणमा लिएर वार्ताको लागी राजदरवार पठाए । दरबारमा विद्रोहमा समर्थन नरहेका रक्षा दलका अन्य अफिसरहरु पनि पुगिसकेका थिए । राजाले के.आई. सिंहलाई दरबारमा भेट्न आमत्रण गरे । तर सिंह भने सुरक्षाको प्रत्याभुति नभएको हुँदा सर्वदलिय सरकारको माग राख्दै बसे । यसरी वार्ताको आश्वासनमा भुलाउदै गर्दा रक्षादलका  कतिपय सदस्यहरू सिंहदरबारबाट भागिसकेका थिए । भारतीय प्रधानमन्त्री नेहरुलाई मातृका प्रसादले जानकारी गराइ भारतीय सेनाका २००० सैनिक पठाइदिन आग्रह समेत गरिसकेका थिए । माघ ९ गते विहान भारतीय समाचार संस्था पिटिआइ सम्वादाताले के.आई. सिंहको अन्तर्वार्ता लिन पनि भ्याइसकेका थिए । उनले गोरखा दल, कम्युनिष्ट सहितको सर्वदलिय सरकार गठन हुनुपर्ने र राजाको नेतृत्व स्विकार्य रहेको जानकारी दिएका थिए ।

विद्रोही समुहले सिंहको नेतृत्वमा सरकार तथा अग्नीप्रसाद खरेल गृहमन्त्री तथा टेकबहादुर मल्ललाई आइजिपी बनाइएको घोषणा गरेका थिए ।

भारतीय सेनाको देशमा प्रवेशको साथसाथै भारतीय हैकम अझै बढ्ने सम्भावना तिव्र भएको आकलन गर्दै दिउँसो २ बजे दरबारको प्रत्युत्तरको प्रतिक्षा नगरि के.आई. सिंह आफ्नो विश्वासिलो समुहको साथ सिंहदरबार दक्षिण ढोकाबाट चुपचाप निस्किए । पचली टेकु हुँदै विष्णुमती नदीमा पुगेर नदीको किनारै किनार उत्तरतर्फ लागे । उनले आत्मसमर्पण गरेनन् । आफ्नो विद्रोह रक्तपातपूर्ण बन्न सक्ने तथा भारतीय सरकारको गुलाम बन्नुपर्ने देखेपछि चुपचाप हटे । सैनिकले उनको समुहमाथी कुनै आक्रमण गरेन् ।

सिंहदरबार भित्र रहेका रक्षा दलका सैनिकहरुले भने केही बेर गोलीबारी गरे । जसको जवाफी फायरमा सेनाले गरेको गोली प्रहारबाट एक रक्षादलको सैनिकको मृत्यु भयो भने रक्षादलको गोलीबाट एक सर्वसाधारणको मृत्यु भयो । करिब १६-१७ घण्टामा नै विद्रोह समाप्त भयो । यस विद्रोहलाई पछि मातृका सरकारले अतिरञ्जित रुपमा प्रचारबाजी गरेर के.आई. सिंह गलत भएको प्रमाणित गर्न खोजे ।

धेरैको अनुमानमा यो विद्रोह रक्षा दलको अस्तित्व समाप्त गर्न सरकारको सैनिकको रुपमा रहेका टेकबहादुर मल्लले बुनेको षडयन्त्रको रुपमा लिने गर्दछ । राणाकालमा समेत जासुसीको भूमिका वहन गरेका टेकबहादुरलाई देश भित्रकै एउटा समुहले परिचालित गरेर एउटै तीरले तीन निशान लगाउन सफल भएको मानिन्छ । यस विद्रोहपछि रक्षादल खारेज भयो । कम्युनिस्ट पार्टी अवैध घोषित भयो । साथै विद्रोही मानिएका के.आई. सिंह देशबाटै पलायन भए ।

यसरी सिंहदरबारबाट हिँडेको समुह तिब्बतमा शरणार्थीको रुपमा करिव साढे तीन वर्षको बसाइ पछि चीनिँया सरकारको अनुरोधमा नेपालले उनलाई फिर्ता बोलाउन तयार भयो । वि.सं २०१२ भदौ २७ मा काठमाडौ आइपुग्दा लक्ष्मीप्रसाद देवकोटो अध्यक्षतामा स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गरिएको थियो । चीनबाट फर्केका ३१ जनाको समुहलाई स्वागत गर्न ७ वटा जीपको व्यवस्था गराइएको थियो । वीर के.आई. सिंह जिन्दावादको नारा लगाउँदै बजार परिक्रमा गराइएको थियो । यसरी काठमाडौ आगमन पछि २०१२ असोज ८ मा टुँडिखेलमा भाषण गरि सबैको दोषी कोइराला परिवार रहेको जिकिर गरे । यसरी उग्र स्वभावका के.आई. सिंहलाई २०१४ साउन ११ गते राजा महेन्द्रले प्रधानमन्त्रीमा मनोनित गराए । भारतीय दबावमा बारम्बार रहेका राजा महेन्द्रले उग्र स्वभावका चीनिँया निकट सिंहलार्इ प्रधानमन्त्री बनाएको अनुमान गर्न सकिन्छ । यिनको सरकारमा पशुपतिभक्त माथेमा तथा लक्ष्मीप्रसाद देवकोटा जस्ता व्यक्ती मन्त्री बनेका थिए । जनताको लागी मन लगाएर सरकार चलाउँदै गरेका हुँदा छिट्टै जनताको प्रिय हुन थालेको देखी विरोधीहरु सक्रिय हुन थाले । राजा महेन्द्रलाई सरकारलाई विस्तारै कठपुतली बनाएर आफै सर्वेसर्वा हुन खोज्दैछ भन्ने चुक्ली लगाउन नरशम्शेर दरबर पुगे । नरशम्शेरको कुरामा विश्वास गर्दै राजाले कार्तिक २९ गते उनको सरकारलाई अपदस्त गराइ सरकारको जिम्मा आफ्नै हातमा लिए । केबल ११२ दिन सरकार चलाउन पाए पनि उनको चर्चा सबैभन्दा बढि हुन गएको देखिन्छ । शायद नेपालको इतिहासमा सबैभन्दा छोटो अवधीका प्रधानमन्त्री यिनै थिए ।

यसरी सच्चा नेपालका भक्त रहे तापनि केही तत्वले बदनाम गर्न खोजेका के.आई. सिंह भने पोखरेलीको लागी सदैव चिरपरिचित नाम बन्न पुग्यो । हुन त अधिकांशले वास्तवमा के.आई. सिंह भन्ने को हो भनेर थाहा नपाए पनि कुनै बेला लामाचौरको शुरु भागको रुपमा रहेको दिप र बगरको भीमकाली पाटन बीच जोडीएको पुलको नाम के.आई. सिंह पुल हुनुले पनि सबैले सम्झिने गरेको बुझ्नुपर्छ ।

२०१३ सालको तिहारतिर पोखरा आइपुगेका के.आई. सिंहले असहज रुपमा रहेको फड्केमा पुल बनाउन आर्थिक सहयोग गरेका हुँदा नै यो पुलको नाम के.आई. सिंह पुल रहन गएको थियो । उनको यो यात्रा संयुक्त प्रजातान्त्रिक पार्टीको चुनाव प्रचार जस्तै थियो । यो यात्रामा लक्ष्मीप्रसाद देवकोटाको साथ पोखरा आइपुगेका उनले पोखराको बाटुलेचौरमा भएको कार्यक्रममा सहभागिता जनाएका थिए भने नालामुखको चौतारामा भाषण पनि गरेका थिए । तिहारको समय पोखरामा रहँदा पोखराका धर्मराज थापा पनि उनको साथ थिए । यिनै धर्मराज थापाको सक्रियतामा पुल बनाउन आर्थिक सहयोग दिएको हुँदा र पछि उनै प्रधानमन्त्री समेत बनेको हुँदा पनि सो पुलको नामाकरण के.आइ.सिंह पुल राख्नमा धर्मराज थापा लागेका थिए ।

यसरी देशको लागी केही चाहने कुँवर इन्द्रजित सिंहको २०३९ असोज १८ गते घाँटीको क्यान्सरबाट बैंककमा उपचारको क्रममा निधन भयो ।

प्रस्तुतीः सुनिल उलक

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  3. फाल्गुन २९, दशरथ रंगशालामा ९३ जना खेलप्रेमीले ज्यान गुमाएको दिन
  4. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  5. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  6. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  7. जंग बहादुरले जीवनभर दाँया खुट्टाको जुत्ता बायाँको भन्दा एक नम्बर ठुलो लगाउन पर्यो
  8. जङ्गबहादुर राणाको तलब थियो होला ? त्यो बेला एक रुपैँयामा २२ माना मसिनो चामल आउँथ्यो।
  9. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  10. तानाशाह हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर