२१ औँ शताब्दीमा ओबामाको जुन 'क्रेज' थियो १८ औं शताब्दीमा त्यस्तै 'क्रेज' जंगबहादुरको थियो

पढ्न लाग्ने समय : 23 मिनेट

'जंगबहादुर ज्युँदै बाघ समात्थे रे । बाढी आएको बागमती नदीमा हाम फाल्थे रे । धरहराको टुप्पोबाट हाम फाले रे ।'

यस्ता सुन्दा पत्यार नलाग्ने कुरा हामीले पुस्तौं-पुस्ता सुन्दै आएका छौं । यति मात्र होइन अहिले पनि कुनै शासक क्रूर चरित्रको छ भने उसलाई 'जंगे नै रहेछ नि' भनिन्छ । कसैलाई गाली गर्नुपर्‍यो भने 'राणाको छोरो' भन्ने चलन नेपाली समाजमा अझै छ । यी सबले जंगबहादुर कुँवरको सहास, सौर्य, एकछत्र राज गर्ने मनोकांक्षा र सबैलाई निषेध गर्ने चरित्रलाई बुझाउँछ । साँच्चै उनी सामान्य मानिसका लागि 'अद्भुत' नै थिए त ? कि उनले त्यसबेला नेपाली समाजमा उत्कर्षमा रहेको तन्त्रमन्त्रको सहारामा यस्ता अजब अजबका काम गर्थे ? के उनीबारे भनिएका र सुनिएका कुरा साँचो हुन् ? स्वयम् उनका छोरा पद्म जंगबहादुर राणाले आफ्ना पिताको डायरीको आधारमा लेखेको पुस्तक 'लाइफ अफ महाराज सर जंगबहादुर’मा उनका विविध चर्तिकला उल्लेख गरेका छन् ।

जंगबहादुर र घोडा

सैनिक परिवारमा जन्मेकाले होला सानैदेखि उनलाई पठनपाठनतिर भन्दा बन्दुक, युद्ध, घोडचढी, खेलकुद आदिमै सोख थियो । त्यसैमा उनले आफ्नो भविष्य देखेका थिए । त्यसैले उनी जहाँ जान्थे घोडाकै परख गर्थे । जहाँ पुग्थे सिकारकै तानाबान मिलाउँथे । अनि गोला, बारुद्ध र बन्दुकको जान पहिचान निम्ति दत्तचित्त देखिन्थे ।

उनले बम्बईबाट ३० वटा अरब जातको घोडा मगाएका थिए । ती घोडाहरू १८४९ फेबु्रअरी १६ को साँझ काठमाडौं ल्याइपुर्‍याइएका थिए । तीमध्ये उनले एउटा रणोद्वीप सिंह र एउटा जगत् शमशेरलाई दिए ।

बेलायत यात्रामा छँदा पिकाडिलीमा घोडा हेर्न पुगेका उनलाई एउटा घोडा निकै मन पर्‍यो । र, किन्ने चाहना भएपछि व्यापारीसित मूल्य सोधे । उनले ३०० गिनिजमा त्यो घोडा किनिछाडे । 'इप्सन रेसेस'मा सहभागी भई घोडा रेस हेरिरहेका बेला एकजना अंग्रेज भलाद्मीले जंगलाई सोधे, 'महासय, तपाईं भन्न सक्नुहुन्छ कुन घोडाले रेस जित्ला ?' उनले भनिदिए, 'भाल्टिजेन्ट ।' नभन्दै भाल्टिजेन्टले नै रेस जित्यो । घोडचढी उनलाई सबैभन्दा मनपर्ने मनोरञ्जनात्मक कला थियो ।

१८५३ मे २६ को गर्मीको दिन बद्रीनाथ दर्शन गरेर र्फकने क्रममा उनले घोडामा सिमानाको अलिगन्जदेखि काडमाडौंसम्मको १०९ माइलको यात्रा लगातार रूपमा सफलतापूर्वक सम्पन्न गरेका थिए । दौडका क्रममा १२ वटासम्म घोडा बदल्नुपरे पनि थकान भने कत्ति थिएन ।

किन राजनीतिमा लागे ?

जब राजा, रानी र राजकुमारले तीनथरी शासन चलाउन थाले तब दरबार षड्यन्त्रको मुकाम बन्न पुग्यो । यसै क्रममा भीमसेन थापाको दुःखद् अन्त्य भयो । र, माथवरसिंह थापा प्राइम मिनिस्टर बनाइए । उनको मन्त्रिपरिषद् सदस्यमा जंग पनि थिए ।

दरबारको जग्गा कमाउने किसानहरूले तुषारोका कारण बाली नष्ट भएकाले त्यस वर्षको तिरो/मालपोत मिनाह निम्ति मन्त्रिपरिषद्मा निवेदन दिएका थिए । तर प्राइम मिनिस्टरले मालपोत मिनाह गर्न नसकिने भनी निर्णय गरेपछि जंगले त्यसको विरोध गरेका थिए । अनि मामा-भान्जा अर्थात् माथवर र जंगबहादुरबीच भनाभन भयो । मामाले भने, 'तिमी खाली विवाद गर्छौ । यस्तो गरिमामय सभाको खिलापमा बोल्ने सहास तिमीलाई कसरी आयो ?' प्रत्युत्तरमा जंगले भने, 'यो निर्णय एकदमै केटाकेटी शैलीको भयो । मलाई केटाकेटी नठान्नुस् ।' अनि यसमा राजा र राजकुमारले पनि जंगको पक्ष लिएपछि माथवर सिंहको मुख बन्द भयो । अनि उनले भान्जालाई मन्त्रिपरिषद सदस्यबाट हटाउने षड्यन्त्र रच्न थाले । दरबारको हर्ताकर्ता बनेकी कान्छी महारानी लक्ष्मीदेवीबाट लालमोहर लगाएर जंगलाई राजकुमार सुरेन्द्रको स्टाफका रूपमा सरुवा गरिदिए । मामा-भान्जाबीच तिक्तता बढ्न थाल्यो ।

यो पनि पढ्नुहोस् जंग बहादुरले जीवनभर दाँया खुट्टाको जुत्ता बायाँको भन्दा एक नम्बर ठुलो लगाउन पर्यो

त्यसैबेला जंगका एकजना भतिज देवीबहादुरलाई कान्छी महारानीको चरित्र हत्याको अफवाह फैलाएको भनी दोषारोपण गरी सजायको तानाबान बुनियो । र, कान्छी महारानीको इसारामा प्राइम मिनिस्टरले मन्त्रिपरिषद्बाट देवीबहादुरलाई फाँसी दिने निर्णय गरी राजासमक्ष पठाए । तत्काल राजाले त्यसमा लालमोहर लगाएपछि देवीबहादुरलाई फाँसीमा चढाउन 'भाचाकोश' लगियो । तर यो सबै घटनालाई देखिरहेका जंगले भतिजलाई फाँसीबाट बचाउन भने सकेनन् ।

तैपनि उनले मामा माथवरसँग अन्तिम अनुनयविनय गर्ने निधो गरी उनीसमक्ष पुगे । र, वार्तालाप भयो । जंग-'मामाबाट मेरो निर्दोष भतिजको जीवन बचाउका लागि आश गर्नुबाहेक मसँग के नै विकल्प छ र ? मेरो भतिज तपाईंको पनि भान्जा नै हो । त्यस कारण तपाईंले उसको जीवन बचाइदिनुस् ।' निराशा प्रकट गर्दै प्राइम मिनिस्टरले भने, 'तपाईंले भन्नुभएको सत्य हो । तर अहिले पनि पाण्डेहरूका कारण दरबारका गतिविधि एकदमै अन्योलपूर्ण छ । म पनि हालै प्राइम मिनिस्टर बनेको छु । म राजाका उत्तराधिकारीको आदेश अवज्ञा गर्न सक्दिनँ । यदि महारानीले मेरै छोराको जीवन लिने निर्णय गरिन् भने पनि म उनको आदेश अवज्ञा गर्न सक्दिनँ । मसँग उनको शक्ति नियन्त्रण गर्ने सामथ्र्य छैन ।'

जंगले जिद्दी गरे, 'कुनै पनि निर्दोष नागरिकको ज्यान बचाउनु प्राइम मिनिस्टरको कर्तव्य हो । देवीबहादुरलाई सुनाइएको फाँसी अन्यायपूर्ण छ भनी तपाईं राजारानीसित भन्न सक्नु हुन्न ?'

माथवरले कड्किँदै यस्ता भाषण नसुनाउन जंगलाई भने । उनले भने, 'भान्जा, तपाईं मलाई उपदेश दिने उमेरको हुनुहुन्न । यदि महारानीले यस्तो आदेश तपाईंको सन्दर्भमा दिइन् भने पनि मैले तपाईंलाई मार्न तयार हुनुपर्नेछ र तपाईंले पनि मेरो सन्दर्भमा त्यसै गर्नुपर्नेछ ।'

जंग कड्के, 'ए, रानीले जथाभावी आदेश दिइन् भन्दैमा तपाईं आफ्नै भान्जालाई पनि मार्न उद्यत हुनुहुन्छ ? तपाईंले यसै भन्न खोज्नुभएको हो ?'

बेतुकको कुरामा अल्झिरहनुभन्दा जंग घोडा चढेर भतिजलाई फाँसी दिने स्थानतिर लागे । फाँसीपछि देवीबहादुरको शवलाई अन्त्येष्टिका लागि आर्यघाट पुर्‍याइयो । जब शवलाई चितामा राखियो, उनकी धर्मपत्नीले मधुर स्वरमा जंगलाई भनिन्, 'तपाईं हाम्रो परिवारको सबभन्दा सक्षम सदस्य हो । म भगवान्सँग त्यही प्रार्थना गर्छु कि एक दिन तपाईं मुलुको सबैभन्दा उच्च ओहोदामा पुग्नुहुनेछ । र, मेरा प्राणप्याराको ज्यान लिनेहरूलाई बदला लिन समर्थवान् हुनुहुनेछ ।' यसै घटनाले जंगको मनमा बदलाको भावना उत्पन्न गराइदियो । उनलाई क्रूर र तानाशाह बन्न प्रेरित गर्‍यो । फलस्वरूप उनले एक-एक गरेर आफ्ना शत्रुहरूको विनाश गरे । मामा माथवरसिंह थापाको हत्या गरे । कोतपर्वमा रगतको खोलो बगाएर तत्कालीन दरबारको षड्यन्त्र, शक्ति संघर्ष र भारदारहरूबीचको वैमनस्यताको जगमा उभिएर आफूलाई शक्तिशाली शासकका रूपमा उभ्याए । तसर्थ १८४६ सेप्टेम्बर १५ को राति रचिएको कोतपर्वलाई जंगका सन्ततिले 'क्रान्ति' भनेका छन् । यस किताबमा पनि कोतको निर्मम हत्यालाई 'क्रान्ति' कै संज्ञा दिइएको छ ।

हेर्नेको धुइरो

अमेरिकी राष्ट्रपति बाराक ओबामा दक्षिण एसिया भ्रमणमा आउँदा उनलाई हेर्नेको ओइरो लागेजस्तै त्यसबेला युरोप यात्रामा जाँदा जंगबहादुरलाई हेर्नेको धुइरो लागेको थियो । २१ औँ शताब्दीमा ओबामाको जुन 'क्रेज' छ १८ औं शताब्दीमा त्यस्तै 'क्रेज' जंगबहादुरको थियो ।

जंगको बेलायत यात्राले पूर्वीय र पश्चिमी सभ्यताबीच सुमधुरता थपेको मान्न सकिन्छ । उनले हिन्दु परम्पराअनुसारको पूर्वीय रीतिथिति र संस्कारलाई बेलायत यात्राका क्रममा कडाइका साथ लागू गरे पनि पश्चिमी सभ्यताका राम्रा कुराको भने अनुकरण गरेको पाइन्छ । जंगले बेलायत यात्रा गरेको ५६ वर्षपछि उनका छोराले लेखेको किताब पढ्दा यो कुरा बुझ्न कठिन हुँदैन ।

उनको टोलीमा जगत्शमशेर, धीरशमशेर, वैद्य चक्रपाणि, आर्टिस्ट भाजुमान, क्याप्टेन क्याभेनाग -लायजन अफिसर, जो उनको युरोप यात्राभरि साथै रहे) सहित ४१ जना थिए । पूर्वीय सभ्यताको उच्च ओहोदाका प्रतीक जंगबहादुर नै पहिलो इंग्ल्यान्ड भ्रमण गर्ने व्यक्ति थिए ।

१८५० जनवरी १५ मा हाडिङ्टन पानी जहाजबाट यात्रा सुरु भएको थियो । ३०० फिट लामो, ७५ फिट चौडा, १० फिट उचाइ भएको १२०० यात्रु अटाउने उक्त जहाज ५००० स्टर्लिङ पाउन्डमा चार्टर्ड गरिएको थियो । जहाजभित्र पनि उनी आफ्ना देशका नागरिकबाहेकले दुहेको गाईको दूध खाँदैनथे । हिन्दुको 'चौका परम्परा' छाडेनन् ।

काठमाडौं-पत्थरघट्टा-पटना-कोलकाटा-मद्रास/चिनापट्टन-सिलोन/श्रीलंका-एडेन-स्वयज-कायरो/इजिप्ट-अलेक्जेन्डि्रया-माल्टा पुगे । र, माल्टाबाट जहाज बदली 'रिप्पन'मा चढे । तर उक्त पानी जहाजमा गाई काटेको घटनाले जंगलाई निकै आघात भयो र उनले क्याप्टेन क्याभेनागलाई भने यदि गौहत्याको यो निन्दनीय कार्य हुन्छ भने 'म यात्रा रोक्छु ।' त्यसपछि उनले त्यो जहाज छाडेर अर्कै जहाजबाट बाँकी यात्रा तय गरे । अनि उनको टोली जिब्राल्टार पुग्यो र १८५० मे २५ मा इंग्ल्यान्डस्थित साउथम्टन बन्दरगाह पुगे । भन्सार अधिकारीहरूले जंगको 'लगेज' खोलेर जाँच गर्नुपर्छ भनेपछि त्यसले आफ्नो प्रतिष्ठामा आँच पुग्ने र धार्मिक हिसाबले पनि नमिल्ने भएकाले खोल्न मिल्दैन भनी पूर्णतः अस्वीकार मात्र गरेनन्, ६ जना नेपाली गार्डलाई ती 'लगेज' रेखदेख गर्ने आदेश दिए । र, भन्सार अधिकारीहरूसित भने, 'यदि लगेजको कुनै पनि भाग छोएमा अर्को स्टिमर लिएर प|mान्स जान्छु ।' हिज एक्सलेन्सीको त्यस्तो चेतावनी पाएपछि भन्सार अधिकारीहरूले आफूभन्दा माथिका अधिकारीहरूसित टेलिग्राम मेसेज आदानप्रदान गरे र अन्तमा कुनै पनि लगेज नखोलीकन भन्सार पास दिए । त्यसपछि उनी रिचमन्ड टेरेसमा पुगी आफ्नो बेलायत यात्राका कार्यक्रमा सहभागी हुन थाले ।

जुन ११ मा एकाएक बिरामी परेपछि बेलायतकै नामी फिजिसियन सर बेन्जामिन ब्रुडी उनको उपचारमा खटिए । परीक्षणको अन्तिम दिन उनले बेन्जामिनलाई ५०० स्टर्लिङ पाउन्ड फी स्वरूप लिन आग्रह गर्दा बेन्जामिनले त्यति धेरै रकम लिन नमानेको र अन्तमा १०० पाउन्ड लिएका थिए ।

बेलायती महारानी भिक्टोरियाले उनलाई 'थ्रोन रुम' मै दर्शनभेट दिएकी थिइन् । त्यसबेला महारानीको कोखबाट राजकुमार ड्युक जन्मेको २१ दिन मात्र भएको थियो ।

२२ जुनमा महारानीको निम्तामा दरबार पुगे । त्यस दिन राजकुमार आर्थरको 'व्याप्टिजम्' थियो । पार्टीमा जंगलाई 'वाइन' पिउन 'अफर' भएपछि आफ्नो देशको परम्पराअनुसार राजा/रानीको सामु 'वाइन' पिउन नमिल्ने भनी विनम्रतापूर्वक क्याप्टेन क्याभेनागलाई गिलास लिन आग्रह गरेका थिए । र, आफ्नो तर्फबाट क्याभेनागलाई 'वाइन' पिइदिन आग्रह गरे ।

पार्टीमा 'इंग्लिस म्युजिक' बजिरहेको थियो । जंग त्यसलाई ध्यानपूर्वक सुनिरहेको देखेर महारानीले सोधिन्, 'भाषा नबुझे पनि अंग्रेजी गीत/संगीतचाहिँ किन मन पराउनुहुन्छ ?' जंगको जवाफ थियो, 'हामी चराको चिरबिर बुझ्दैनौं र पनि त्यसको माधुर्यतामा मन्त्रमुग्ध हुन्छौं ।'

'वुलविच' इंग्ल्यान्डको सैन्य प्रतिष्ठा स्थल भएकाले जंगले त्यसको तीनचोटि भ्रमण गरे । किनकि सैन्य विद्या र कलाका उनी पारखी थिए । 'कुँवर राणाजी पोल्का, लङ लिभ जंगबहादुर, द नेपालिज पि्रन्स, द हाइल्यान्ड चिफ' जस्ता नाराले इंग्ल्यान्डमा जंगलाई स्वागत गर्ने र हेर्नेहरूको धुइरो लागेको थियो भन्ने देखिन्छ । इंग्ल्यान्ड यात्राबाट उत्साहित भएपछि युरोपको थप भ्रमण गर्ने चाहना उनमा पलायो । र, सोही वर्ष अगस्ट २१ मा त्यतैबाट प|mान्सतिर लागे । प|mान्समा उनले विभिन्न महत्त्वपूर्ण ठाउँ घुमे, धेरै उच्च पदस्थहरूसित भेटघाट गरे ।

२५ सेप्टेम्बरमा जगत्शमशेर, धीरशमशेर, सिद्धिमानसहित जब उनी जार्डिन माविलस्थित सुटिङ ग्यालरीमा पुगेर सुटिङ गर्दै थिए त्यसैबेला एकजना प|mेन्च सुन्दरी उनको सामुन्ने आइन् र भनिन्, 'म पनि राम्रोसँग सुट गर्न सक्छु ।' महामहिम जंगले तुरुन्तै आफ्नो हातको पेस्तोल ती सुन्दरीलाई थमाएका मात्र के थिए अत्यासमा परेकी तिनले हतियारलाई आँखासम्म उठाउन नभ्याउँदै 'टि्रगर' दाब्दा धीरशमशेरको तिघ्रामा निसाना लागी घाइते हुन पुगे । अनि जंगले धीरलाई तुरुन्त होटलमा लगेर तिघ्राबाट गोली निकाले । त्यसको केही दिनमा धीरको घाउ निको भएको थियो ।

युरोपबाट र्फकने क्रममा उनले द्वारका, रामेश्वरम्, वनारस र विश्वनाथको दर्शन गरी पवित्र गंगा नदीमा स्नान गर्न भुलेनन् । 'म्लेच्छे'को देशबाट फर्केपछि जनचाहनाअनुसार 'जात' नजाओस् भनी उनले त्यसो गरेका थिए । यद्यपि यही अभियोग लगाएर उनका भाइ बमबहादुर लगायतले उनलाई मार्ने षड्यन्त्र गरेका थिए । १८५० जनवरी १५ मा इंग्ल्यान्ड प्रस्थान गरेका उनले प|mान्सको समेत यात्रा पूरा गरी १८५१ फेब्रुअरी ६ मा काठमाडौं फर्केका थिए ।

१८७५ मा पि्रन्स अफ वेल्सको नेपाल भ्रमण हुँदा जंगले पश्चिम नेपालको वनबासा क्षेत्रमा सिकारको राम्रो प्रबन्ध गरेका थिए । त्यसपछि सोही वर्ष उनले आफ्नो दोस्रो युरोप भ्रमण बम्बई पुगेर स्थगित गर्नुपरेको थियो । त्यहाँ उनी लडेर घाइते भएपछि मुटुमा असर परेको र त्यसका लागि लामो समय आराम गर्नुपर्ने चिकित्सकको सल्लाहअनुसार उनले भ्रमण रद्द गर्नुपरेको थियो ।

लखनऊ लुट’को लेखाजोखा

१८५७ को 'सिपाही म्युटिनी'मा कहिल्यै घाम नअस्ताउने बि्रटिस साम्राज्य पराजित हुँदै थियो । नेपालका प्राइम मिनिस्टर जंगबहादुरले इस्ट-इन्डिया कम्पनीको आग्रहमा लखनऊमा सिर्जित सिपाही विद्रोह नियन्त्रण गर्न भरमग्दुर सहयोग गरेका थिए । काय एन्ड मेलसनको हिस्ट्री अफ दी सिपाही वारमा यसबारे विस्तृत वर्णन गरिएको छ ।

मे महिनामा पहिलोपटक विद्रोहको झट्का लागेपछि बेलायत सरकारले हिज एक्सलेन्सी प्राइम मिनिस्टर जंगबहादुरसित सहयोगका लागि आग्रह गरेको खबर आवासीय प्रतिनिधि जनरल राम्जेले दिएका थिए । लगत्तै जंग ६,००० फौज लिएर लखनऊका लागि हिँडे पनि लर्ड क्यानिङले त्यसलाई अस्वीकार गरेपछि बीचैमा रोकिनुपरेको थियो ।

जुन २६ मा विद्रोहीको प्रवेशले उनको अवस्था निकै कमजोर हुनपुग्यो । र, लर्ड क्यानिङले जंगसँग सहयोगको अपेक्षासहितको खरिता पठाएपछि २ जुलाईमा उनी ६ वटा रेजिमेन्टको नेतृत्व गर्दै लखनऊका लागि प्रस्थान गरेका थिए । प्रस्थानका लागि जब उनी थापाथली दरबारबाट निस्केका मात्र के थिए, त्यसैबेला एउटा सुखद समाचार सुन्न पाए- छोरो जन्मेको । जसलाई भगवान्ले तिनै बाबुको जीवनी लेख्ने अभिभार सुम्पेको रहेछ । पद्म जंग जन्मेको खबर सुन्नासाथ कोचबाट ओर्लेर जंगले नवजात शिशुको मुख हेरेर आफूलाई सर्वशक्तिमान् प्रभुले खुसी दिएकाले युद्धमा पनि विजयी हुन्छु भन्दै लखनऊतिर लागे । लखनऊ विद्रोहमा होमिएका बेला उनको पिएका रूपमा रणोद्वीप सिंह र धीरशमशेर खटिएका थिए ।

चाँदको भीडन्तमा ३००-४०० विद्रोहीसहित नेपाली कमान्डर लेफि्टनेन्ट कर्णेल मदनमानसिंह बस्न्यात मारिएका थिए । १० मार्चमा विद्रोहीको घेरा तोड्दै जंग लखनऊ सहरभित्र प्रवेश गर्न सफल भए । त्यो सुनेर बि्रटिस कमान्डर मेटक्याफले उनलाई लिन क्याभलरी पठाएका थिए ।

अनि 'बेगम्स कोठी'मा नेपाली र बेलायती संयुक्त फौजले कारबाही गर्दा करिब ६०० विद्रोहीको शव कोठीवरपर भेटिएको थियो । त्यसपछि ६,००० विद्रोहीको नियन्त्रणबाट आलम बागस्थित तीनवटा मस्जिदलाई मुक्त गर्नु थियो । त्यसमा २०० जति नेपालीको ज्यान गएको र १३ जनालाई विद्रोहीले बन्दी बनाएका थिए । जब मस्जिद र महलहरूमा धावा बोलियो अनि त्यहाँ लुट मच्चाउन थालियो । लखनऊको सबैभन्दा धेरै सुन चाँदी, हीरा-मोती, जुहारातले सजिएको इमामबारालाई आफ्नो नियन्त्रणमा लिएर जंगले ती सबै लिएका थिए । अनि कैशर बागस्थित छत्तर मञ्जिल, मोती महल र तारा कोठीमाथि हमला गरी संयुक्त फौजले नियन्त्रण गरेको थियो । विभिन्न थरीका परीका कथाले सजिएको अलाद्दिन गार्डेन जुन लखनऊको 'रोयल गार्डेन' मानिन्थ्यो त्यो पनि नियन्त्रणमा आयो । कैशर बाग छिरेको एक गोर्खाली सैनिकले २५० वटा मोती जडित एउटा कण्ठहार फेला पारेपछि त्यसमा रहेको सुन जति लियो र मोतीलाई सिसाको दाना ठानेर फुटाएर फालिदिएका थिए । महारानीका सलहरूलाई बेड सिटका रूपमा प्रयोग गर्‍यो । त्यसपछि बेलायती, गोर्खाली र शिखको संयुक्त फौजले राजा असफुद्दोलवाको माछी भवन नियन्त्रणमा लिई त्यहाँ रहेका श्रीसम्पत्ति कब्जामा लिएका थिए ।

१८ मार्चमा संयुक्त फौजले लखनऊदेखि ४ माइल पर गुम्ती नदीको किनारमा रहेको बगैंचैबगैंचायुक्त निकै ठूलो मुसा बाग नियन्त्रणमा लिएपछि त्यसमा शरणार्थीका रूपमा रहेका राजकुमार बि्रजिस कदार र उनकी माता बेगम हजरत महल पनि विद्रोहीहरूसँगै कब्जामा परे । एकातिर जनरल ओस्ट्रम र चार बाग रोडतिरबाट जंगले उक्त महलमा एकैपटक भीषण आक्रमण गरेका थिए । त्यसभित्र रहेका हीरा-मोती, सुन-चाँदी, जुहारत सबै लुटिए । भागेर नेपाल प्रवेश गरेका बेगम हजरत महल र छोरा बि्रजिसलाई जंगले शरण दिएपछि नै मुसलमानहरूको नेपाल प्रवेश भएको मानिन्छ ।

२० मार्चमा महाराजा जंगले आफ्नो क्याम्प नजिकै विद्रोहीहरूले दुईजना अंग्रेज महिलालाई बन्दी बनाएको जानकारी पाए । एकजना उध कमिसनका सर मोन्टस्टुआर्टकी बहिनी र अर्की क्याप्टेन प्याटि्रक ओरकी पत्नीलाई विद्रोहीहरूले धेरै समयदेखि बन्दी बनाएका थिए । जंगले एक पल्टन पठाएर तिनीहरूको सकुशल उद्धार गरेका थिए । सिपाही विद्रोहमा सघाएबापत इस्ट-इन्डिया कम्पनीले जंगलाई बाँके, बर्दिया, कैलाली र कञ्चनपुर -जसलाई त्यसपछि नयाँ मुलुक भनिन्थ्यो) दिएको हो ।

महिला हिंसा र जंगबहादुर

दाइजो प्रथाले दरबार, भारदार र हुनेखानेहरूको परिवारमा नराम्रो जरा गाडेको थियो । जुन प्रथाले महिलालाई किनबेचको सामानभन्दा फरक ठान्दैनथ्यो । १८५४ मा जंगका छोरा जगत् जंगको बिहेमा वसन्तपुर दरबारले दाइजोका रूपमा मोरु ६,७१,७७५ राज्य कोषबाट प्रदान गरेको थियो ।

छोराको बिहेलगत्तै जंगले चौतरिया फत्तेजंग शाहकी कान्छी छोरीसित लगनगाँठो जोडे । बहुविवाहको अर्को रूपले नेपाली महिला अस्मिता खण्डित थियो त्यसबेला । यी दुई बाबु-छोराको बिहे प्रेमपूर्वकभन्दा पनि राजनीतिक सम्झौता र सम्बन्धका खातिर सम्पन्न 'विरही बिहे' थिए । यसले महिलाको हकअधिकारलाई कुण्ठित पारेको थियो ।

एकपटक जंग त्रिपिन गाउँमा पुग्दा एउटा घरमा महिला बेस्सरी रोएको सुनेर के भएको भनी सोध्दा लोग्नेले पिटेको रहेछ । श्रीमती पिट्नेलाई उनले तुरुन्तै दुई महिनासम्म थुनिदिए । केही समयपछि उनकी श्रीमतीले छाडिदिन आग्रह गरेपछि आइन्दा श्रीमती पिटेमा त्योभन्दा कडा सजाय भोग्नुपर्ने भन्दै जेलमुक्त गरेका थिए । त्यसपछि उनले एउटा आदेश जारी गरे- यदि कसैले श्रीमतीलाई रगत आउने गरी कुटेको पाइएमा त्यसलाई नौ महिनासम्म थुन्न सकिने नियम बाँधे । निजको श्रीमतीले चाहेमा त्यो सजाय कम गर्न सकिने थियो ।

१८५७ मे २५ मा भाइ बमबहादुरको निधनका बखत जंगले बुहारीलाई सती जान रोके । त्यसै क्षण उनले सतीप्रथा गैरकानुनी भएको घोषणा गरी त्यो प्रथा अन्त्य गरिएको घोषणा गरे । तर उनकै निधनमा पत्थरघट्टास्थित बागमती किनारमा १८७७ फेब्रुअरी २५ को मध्यरातमा उनका ५ महारानीमध्ये तीनवटीले सतीका रूपमा चितामा चढे भने दुइटीका बालबच्चा सानै भएकाले जेठी महारानीको आग्रहअनुसार तिनले चितामा जल्नुपरेन । आफ्नो अति प्यारो हात्ती जंगप्रसादको निधनको दुःखद खबर पाएको दुई दिन नबित्दै ६० वर्षको उमेरमा उनको निधन भएको थियो । ६००० मानिस जंगबहादुरको अन्त्येष्टिमा सहभागी थिए । सिकारकै क्रममा डायरिया र हार्ट एट्याक भई उनको निधन काठमाडौं बाहिर भएको थियो । र, एक 'वेनेभोलेन्ट डिक्टेटर'को जीवन रंगमञ्चको 'क्लोजिङ कर्टेन' थियो त्यो क्षण ।

जंगबहादुर बन्ने चाहना

जंगबहादुर 'म्यान अफ एक्सन' थिए । उनी आजका नेताजस्ता 'म्यान अफ स्पिच' थिएनन् । केही वर्षअघि भूमिगत सशस्त्र हिंसाको आहालबाट शान्तिप्रक्रियामा आएपछि प्रचण्डले भनेका थिए, 'पर्‍यो भने नयाँ जंगबहादुर पनि बन्छु र बुद्ध पनि ।' तर उनी न त जंगबहादुर बन्न सके न त बुद्ध नै । सिर्फ 'ब्लफ मास्टर' मात्र बने ।

सन्दर्भ सामाग्री

ध्रुव सिम्खडा
इकान्तिपुर, २०७० जेठ १७
अन्नपुर्णपोष्ट 

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  3. फाल्गुन २९, दशरथ रंगशालामा ९३ जना खेलप्रेमीले ज्यान गुमाएको दिन
  4. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  5. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  6. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  7. जंग बहादुरले जीवनभर दाँया खुट्टाको जुत्ता बायाँको भन्दा एक नम्बर ठुलो लगाउन पर्यो
  8. जङ्गबहादुर राणाको तलब थियो होला ? त्यो बेला एक रुपैँयामा २२ माना मसिनो चामल आउँथ्यो।
  9. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  10. तानाशाह हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर