सबै

  1. सन् १९१८ मा यसरी गरिएको थियो स्पेनिश फ्लू महामारी नियन्त्रणको पहल
  2. वि.सं १९८४ सालमा नेपालमा रोपवे चल्थ्यो ! (भिडियो सहित)
  3. जङ्गबहादुर राणाको तलब थियो होला ? त्यो बेला एक रुपैँयामा २२ माना मसिनो चामल आउँथ्यो।
  4. चण्डासुर मारिएको खुशीयालीमा बनेपामा ऐतिहासिक चण्डेश्वरी जात्रा (दुर्लभ भिडियो सहित)
  5. माघ १०, शुक्रराज शास्त्रीलाई फाँसी दिइएको दिन
  6. पोखराको पहिलो अस्पताल
  7. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  8. तेह्रौं शताब्दीको टुँडालसहितका सम्पदा नेपाल फर्काइँदै
  9. नागरिकले रेडियो प्रसारण सुन्न शासकसँग अनुमति लिनु पर्थ्यो
  10. महाशिवरात्री उत्सवका पुराना तस्वीरहरू
लामू अमात्य, नेपालकी पहिलो नर्स अर्थात ‘नेपाली फ्लोरेन्स नाइटिङ्गल’।

पढ्न लाग्ने समय : 8 मिनेट

भारतको पश्चिम बंगाल राज्यको राजधानी कोलकाता। जहाँ ५० को दशकमा काठमाडौंका एक नेवार रैथाने भुवनेश्वर अमात्य दाँतको डाक्टरी पढ्न गएका थिए।

कोलकातामै अध्ययनरत रहँदा एकदिन अचानक उनको खुट्टामा चोट लाग्यो। र, उनी उपचारका लागि कोलकाताको प्रख्यात कलकत्ता मेडिकल कलेजमा भर्ना भए।

जतिबेला उनी अस्पतालमा उपचारार्थ थिए, उनको आँखा त्यही अस्पतालमा कार्यरत एक नर्समाथि पर्‍यो।


 

ती नर्स थिइन्, लामू पाल्देन। जो नेपाली भए पनि कोलकाता जस्तो ठूलो ठाउँमा नर्सिङ पढिरहेकी थिइन्। एकदिन कलेजकै सांस्कृतिक कार्यक्रममा लामूको कत्थक नृत्य हेरेपछि भुवनेश्वर यति लट्ठ परे, उनले त्यति बेलै सोचिसकेका थिए, चाहे घरपरिवारसँग बिद्रोह नै किन गर्नु नपरोस्, बिहे चाहिँ उनीसँगै गर्ने।

भुवनेश्वर राणाकालमा काठमाडौंमा कहलिएका भाडा व्यापारी पूर्णप्रसाद अमात्यका छोरा थिए। आमा सीतादेवी चन्द्र शमशेर राणाको पालामा काजी पद पाएका नारायणभक्त माथेमाका छोरी थिइन्।

त्यति बेलाको नेपाली समाज निकै ‘कन्जरभेटिभ’ थियो। यसमा पनि काठमाडौंमा हैसियत बनाएको परिवारको कुरा बेग्लै हुने नै भयो।

तर, कोलकातामा भेटघाटसँगै बाक्लिएको हिमचिम विस्तारै बिहेमा परिणत हुने तरखरमा थियो। भुवनेश्वरले छुट्टिमा नेपाल आएको बेला डराउँदै आफ्नो कुरा आमासँग राखे। उनलाई लागेको थियो–आमाले समाजको लोकलाजले गर्दा ठाँडै अस्वीकार गर्लिन्। किनभने भुवनेश्वर काठमाडौंका रैथाने नेवार थिए भने लामू अर्के जातिकी।


 

तर, उनको आशंका बिपरित आमाले बिहेको लागि स्विकृत प्रदान गरिन्। यसपछि जे भयो, त्यो सारा नेपालीलाई थाहा भएकै विषय हो। लामू अमात्य, नेपालकी पहिलो नर्स अर्थात ‘नेपाली फ्लोरेन्स नाइटिङ्गल’। जसको जन्म १९८८ साल माघ १४ गते दार्जीलिङमा भएको थियो। उनको बुवा सरदार कर्म पाल्देन, बेलायती पर्वतारोहीलाई विश्वको सर्वोच्च हिमाल सगरमाथा चढ्न सहयोगीको भूमिका निर्वाह गर्थे।

लामूको वास्तविक घर सोलुखुम्बु हो। सन् १९२४ मा सगरमाथा आरोहण गर्न आएका पहिलो बेलायती पर्वतारोही जर्ज मेलोरी र एन्ड्रयु इर्भिनलाई सामानहरू बोक्न पोर्टरको व्यवस्था कर्मले नै गरेका थिए। दुर्भाग्य यो ‘एक्सपीडिसन’ मा दुबैको निधन भयो।

तर, बेलायती पर्वतारोहीहरू कर्मलाई खुब विश्वास गर्थे। उनले नै पहिलो सगरमाथा चढ्ने नेपालीको इतिहास बनाएका तेन्जिङ शेर्पालाई बेलायती पर्वतारोहीसँग भेट गराएका थिए।

कर्मलाई बेलायतीहरूले नै सरदारको उपाधि दिएका हुन्। त्यतिबेला बेलायती तथा जर्मनी पर्वतारोहीहरू दार्जीलिङ हुँदै सगरमाथा चढ्न नेपाल प्रवेश गर्थे। अर्थात पर्वतारोहणका लागि दार्जीलिङ मुख्य नाका थियो।


 

पछि बेलायतीहरूसँग कर्म पनि दार्जीलिङ आएर बस्न थाले। यसैले लामूको जन्म दार्जीलिङमा भएको थियो। आफ्नी आमाको सानैमा निधन भएपछि बुवाले अर्को बिहे गरे। बेलायतीहरूसँगको संगतले गर्दा कर्मलाई पनि आफ्नो छोरीलाई अध्ययन गराउनु पर्छ भन्ने चेत आएको थियो। त्यसैले उनले कोलकातामा राखेर लामूलाई पढाएका थिए। कालान्तरमा यो नै नेपाली नर्सिङजगतको इतिहास कोर्ने घटना बन्यो।


 

ब्रिटिशकालमा नेपालका हुनेखानेका छोराछोरी अध्ययनका लागि कोलकाता जाने गर्थे।

लामूको बिहे सन् १९५३ सालमै भयो। तर, उनको अध्ययन पुरा नभएको हुनाले थप एक वर्ष उनी कलकत्ता मेडिकल कलेजमै अध्ययनरत थिइन। नर्सको पढाई सकेपछि यो जोडी सन् १९५४ मा नेपाल फर्कियो। नेपालमा त्यतिबेला नर्सको पढाई गर्ने कोही थिएनन्। फेरि नेपालमा मातृशिशु मृत्यु दर दयनीय अवस्थामा थियो। तत्कालिन राजा महेन्द्रको पहिलो श्रीमती इन्द्रराज्य लक्ष्मीदेवी शाहको पनि सुत्केरीको प्रसव पीडाका कारण निधन भएको थियो।

राजा महेन्द्र यस विषयमा निकै संवेदनशील थिए। यसैले नेपालमा नर्सिङ गरेर आएकी लामूको कुरा दरबारमा पुगेपछि राजा महेन्द्र उत्साही नहुने कुरै भएन। उनले तत्कालै लामूलाई भेट्न बोलाएर नर्सिङ स्कुल खोल्न अनुरोध गरेका थिए। राजाबाटै यस्तो अनुरोध आएपछि लामूले २०१२ साल फागुन ३० गते काठमाडौंको क्षेत्रपाटीमा श्रेष्ठ थरका दुई व्यक्तिको घर भाडामा लिएर नेपालको पहिलो नर्सिङ स्कुलको स्थापना गरिन्।

 

उनलाई त्यही दिनराजा महेन्द्रको निर्देशनअनुसार स्वास्थ्य मन्त्रालयअन्तर्गत रहेर काम गर्ने नियुक्ति दिइयो।

‘आमाको तलब नै ४ सय ५० रुपैयाँ थियो। जबकी अन्य डाक्टरको तलब ४ सय रुपैयाँ हुँदा,’ आफ्नो आमाले भनेको कुरा सुनाउँदै नेपालका चर्चित गायक योगेश्वर अमात्य भन्छन्।


 

सन् २०१२ मा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) अन्तर्गत नेपालमा सुरु भएको ३ वर्षे ‘मिडवाइफ’ परियोजनामा पनि रहेर लामूले काम गरेकी थिइन। यो कार्यक्रमका लागि विदेशबाट मिस रोज नेपाल आएकी थिइन। ‘उहाँ जीवनको उत्तराद्र्धमा पनि नर्सहरूलाई पढाउन जानुछ भन्नु हुन्थ्यो। उहाँमा आफ्नो कामप्रति यति ठूलो लगाव थियो, अल्जाइमर्स हुँदा सबै कुरा बिर्सिसक्नु भएको थियो। तर, बेलाबेलामा खोई पढाउन जानुपर्ने भन्नु हुन्थ्यो,’ योगेश्वर सम्झन्छन्।


 

उनीसँग नपढेका पहिलो पुस्ताका नर्स भेट्न गाह्रो छ। उनी आफूसँग पढ्ने नर्सहरूलाई तलबको केही पैसा जोगाएर सुन किन्न प्रोत्साहित गर्थिन। ‘आमाको भनाई हुन्थ्यो। भोली गाह्रो परेको अवस्थामा पैसा माग्न कहाँ जाने। यही सुनले काम बन्छ भनेर आफ्ना विधार्थीलाई प्रोत्साहित गर्नुहुन्थ्यो,’ योगेश्वर भन्छन्, ‘आमासँग पढेका थुप्रै नर्सहरू हिजोआज म भेट्ने गर्छु। उहाँहरू भन्नु हुन्छ–हामीलाई सुन किन्न सिकाएकै तपाईको आमाले हो।’



लामूकै नेतृत्वमा नेपाल नर्सिङ संघको पनि स्थापना भएको थियो। २०१८ सालमा एउटा षड्यन्त्रअन्तर्गत जनसेवा हलमा आगो लाग्यो। त्यतिबेला आफूलाई छोप्न आएका केही व्यक्तिलाई थप्पड हानेकी लामूलाई पछि त्यही षड्यन्त्रअन्तर्गत सरकारी जागिरबाट राजीनामा मागियो। यद्यपि उनले सरकारी जागिरबाट राजीनामा गरे पनि नर्सिङ पेशालाई लामो समय अनवरत जारी राखिन्। उनको २०६९ साल जेठ १९ गते अल्जाइमर्सकै कारण निधन भयो।


 

सन्दर्भ सामाग्री

नवीन अर्याल
ब्रेकिनलिंक
योगेश्वर अमात्य

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  3. फाल्गुन २९, दशरथ रंगशालामा ९३ जना खेलप्रेमीले ज्यान गुमाएको दिन
  4. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  5. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  6. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  7. तानाशाह हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर
  8. जङ्गबहादुर राणाको तलब थियो होला ? त्यो बेला एक रुपैँयामा २२ माना मसिनो चामल आउँथ्यो।
  9. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  10. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल