‘ग्लोबल इम्पेरर’ अर्थात सिद्धिविक्रम शाह

पढ्न लाग्ने समय : 9 मिनेट

शीरमा टपक्क अडिएको कालो टोपीमा मुगाजस्तै देखिने माला बेरेर घाँटीमा रूद्राक्षको माला लगाएका तेजिला आँखा भएका करिब ५०-५५ वर्षका एक पुरूषको मुसुक्क हाँस्दै सलाम गर्ने बानीले सबैलाई उनीतर्फ ध्यान केन्द्रित गर्न बाध्य पार्दथ्यो । केही अंग्रेजी तथा नेपाली अखबार सधैँ काखी च्यापिरहेका उनका हातका औंलाहरूमा बाक्लै विभिन्न धातुका औंठीहरू हुन्थे भने हातमा चुरोट सायदै छुट्दथ्यो । कहिले कालो, कहिले रातो, कहिले खैरो त कहिले कलेजी रङको ओभरकोट उनको नियमित पहिरन हुन्थ्यो अझ भनाैं ओभरकोट उनको अनिवार्य पोशाक नै थियो । लामो जुँगा, फुरत्याइलो शरिर र शारीरिक हाउभाउ हेर्दा उनी पुर्व सैनिक जस्तै देखिन्थे, कोही उनको नजिक पुगेमा बाक्लैसँग अंग्रेजी अक्षर लेखिएका कागजका टुक्राहरू दिन्थे । अधिकांश समय उनी काठमाण्डाै दरबार क्षेत्र, झोछें, नयाँसडक, सुन्धारा, टुँडीखेल रत्नपार्क एवं रानीपोखरी क्षेत्रमा भेटिन्थे भने जीवनको उत्तरार्धतिर त्रिपुरेश्वरस्थित रणमुक्तेश्वर मन्दिरको पाटीलाई आश्रयस्थल बनाएका थिए ।


 

सन् ६० को दशकको अन्त्यतिर उक्त समयमा काठमाण्डाैका युवाहरू जासुसी किताब निकै रूचाउँदथे त्यसैले उनीहरू ती पुरूषलाई ‘जासुस’ भन्दथे कोही 'बहुला ठकुरी' भन्दथे, कोही 'ठकुरी बाबुसाहेब' भन्दथे तर उनी आफु चाँही आफुलाई ‘ग्लोबल इम्पेरर’ विश्वसम्राट हुँ भन्दथे । उनका हस्तलिखित कागजका टुक्रामा पनि ‘ग्लोबल इम्पेरर’ नै देख्न सकिन्छ ।

सम्पन्न परिवारका सदस्य जस्तै देखिने राम्रो अंग्रेजी बोल्न तथा लेख्न सक्ने ती व्यक्ति खासमा को थिए जो नेपाली मात्र नभई तत्कालीन समयमा नेपाल घुम्न आएका विदेशी नागरिकहरूका समेत निकै मनपराइएका पात्र थिए !  


 

हामीले फेसबुकमा उनको तस्विर राखेर के तपाँईहरू यी व्यक्तिलाई चिन्नुहुन्छ ? भनि सोधेका थियाैं

हाम्रो जिज्ञासामा सयाैं फेसबुक प्रयोगकर्ताहरूले प्रतिक्रिया दिनुभयो जसले ती व्यक्तिका बारेमा आफुले सुने, देखेका कुरा सहित, अझ केहि ले त आफुले ती व्यक्तिले दिएको हस्तलिखित कागजका टुक्रा समेत कमेन्ट गर्नुभयो भने कतिपयले उनीसँगको फोटो नै देखाउनुभयो ।

उनी को थिए ? पढाैं केहि प्रतिक्रियाः 

सुभाष बस्न्यात लेख्नुहुन्छ “मेरो पनि सम्झनामा छ, हामी केटाकेटी हुँदा उहाँलाई रत्नपार्क, भोटाहिटीतिर खुब देखिन्थ्यो तर उहाँ को हुनुहुन्थ्यो थाहा भएन् । “

अरूणा शर्मा लेख्नुहुन्छ “त्यतिबेला जासुसी उपन्यास खुब पढिन्थ्यो त्यसैले यी व्यक्तिको नाम धेरैले शर्लक होम्स  राखिदिएका थिए ।”

कृष्णगोपाल मानन्धर सम्झनुहुन्छ उनी धर्मपथस्थित मेरो रेष्टुरेन्टको नियमित ग्राहक थिए । 

विभिन्न समयमा नेपाल आउनुभएका मोर्टन भ्लिमल किलर भन्नुहुन्छ हो उहाँ आफुलाई दि ग्लोबल इम्पेरर भन्नुहुन्थ्यो, उहाँले लेखेर दिनुभएका कागजहरू मसँग अझै छन् ।

कल्याणगोविन्द श्रेष्ठको पनि मोर्टनको झैं प्रतिक्रिया छ, उहाँ लेख्नुहुन्छ म यी व्यक्तिलाई नयाँ सडकस्थित इन्दिरा रेष्टुरेन्टमा बराबर देख्दथें, मलाई याद छ उनले मलाई अंग्रेजी भाषामा आफैंले लेखेको एक पन्ना दिएका थिए ।

बासुदेव गाैतम लेख्नुहुन्छ, “हो म उहाँलाई चिन्छु, कुमारीघर बसन्तपुरमा उनी प्रायः मध्यान्हको समयमा टहलिन्थे । मिलाएर काटिएको जुँगा, खुकुरी टाँसिएको नेपाली टोपी, लामो कोट लगाएका उनको हातमा सधैं चुरोट देखिन्थ्यो भने विभिन्न रंगीचंगी पत्रपत्रिका बोकेर हिंड्दथे । बाटोमा भेटिएका सबै मठमन्दिरमा उनी केहि चढाउँदै हिंड्दथे जुन उनको दैनिकी थियो । साँच्चै उनी त्यो समयमा निकै चर्चित थिए सलाम गर्ने र मुस्कुराउने बानीले गर्दा ।“

वरिष्ठ सञ्चारकर्मी ह्यारिस चन्द (मिचेल चन्द) उहाँलाई रानीपोखरी आसपास देखेको सम्झदैं लेख्नुहुन्छ “उनीसँग नजिक गएर हेल्लो ! भन्दा केहि लेखिएको कागजको टुक्रा दिन्थे, उनको जुँगा बिछट्टै राम्रो लाग्दथ्यो, लामो कोट र टोपी लगाएका उनी अहिले पनि रानीपोखरी आसपास नै छन् कि जस्तो लाग्दछ ।“


 

श्याम कक्षपति भन्नुहुन्छ “न्युरोड पिपलबोट आसपास देखिने उनी मेरो बाल्यकालको बिर्सन नसकिने व्यक्ति थिए, कसैलाई कुनै हानी नगर्ने उनको बानीले हामी अवाक् थियाैं । उनी बर्बराइरहेका हुन्थे, हामीलाई थाहा हुन्थेन् उनी के भनिरहेका छन्, किनकी उनी खासै बोल्दैन थिए ।“

कृष्णविक्रम क्षेत्री भन्नुहुन्छ “न्यूरोड पिपलबोट नजिक देखिने उनी को हुन मलाई थाहा थिएन् तर प्रायः जसोले उनी जासुस हुन भन्दथे । “

दिवाकर भट्टराईको सम्झनामा “उनलाई तत्कालीन समयमा पञ्चायती सरकारको जासुस भनिन्थ्यो जो नेता गणेशमान सिंहको गतिविधि निगरानीका लागि परिचालित थिए ! “

ब्राइन बेकर लेख्नुहुन्छ, उक्त समयको प्रसिद्ध आंटी जेनमा यी मिजासिला व्यक्तिसँग मैले निकैपटक बिहानको खाजा खाएको छु । उनी निकै सुरूचीपूर्ण र कृपालु स्वभावका थिए, उनले दिएका हस्तलिखित चिठीहरू अझै मेरो संग्रहमा सुरक्षित छन्, साँच्चै म उनलाई धेरै सम्झिरहेको छु ।


 

रिगन हिभ सम्झनुहुन्छ उनी मेरो बुझाइमा राजपरिवार पृष्ठभुमीका व्यक्ति थिए जसले निकै सुन्दर अक्षरमा केहि लेखेर दिँदा गाैरवान्तित भएको महशुस गर्दथे । सायद उनी मैले भेट्दाका बखत मानसिक समस्याबाट पिडित पो थिए कि ?

लामो समय नेपाल रोप वेमा कार्यरत मुकुन्दराज सत्याल रिगन हिभको भनाइमा समर्थन गर्दै उनी पारिवारिक कलहका कारण मानसिक रूपमा विक्षिप्त रहेको बताउनुहुन्छ ।


 

रिचर्ड डेभिड लेख्नुहुन्छ साँच्चै विचित्रको व्यक्तित्व जो हामीलाई बीच सडकमा रोकेर भगवानको तस्विर भएको कागज/फोटोमा केहि लेखेर दिन्थे । म ज पनि यी दुर्लभ व्यक्तिका बारेमा सोच्दछु ।

शशि विष्ट उनलाई क्रिस्टल होटल आसपास देखेको सम्झनुहुन्छ ।

सुरेश आचार्य लेख्नुहुन्छ, म पाको न्यूरोड क्षेत्रमा बस्थें, सानो बेलामा यी मानिस मलाई अनाैठो लाग्दथ्यो, साँची उनी अहिले कहाँ होलान् ?

श्याम शाहका अनुसार उनी पुल्चोकको एक शाह परिवारका सदस्य थिए उनी, मानसिक समस्याबाट ग्रस्त उनले त्रिपुरेश्वरस्थित एक मन्दिरको बरण्डालाई आफ्नो निवास बनाएका बसेका थिए । प्रष्ट अंग्रेजी बोल्न सक्ने, सधैं कालो ओभरकोट र लठ्ठीमा देखिने उनी साँच्चै अचम्मका थिए ।  


 

राणा शासनको बारेका विभिन्न पुस्तकहरू लेख्नुभएका प्रमोद शमशेर जबरा लेख्नुहुन्छ उनी कर्नेल कर्णविक्रम शाहका छोरा सिद्धिविक्रम शाह थिए । उनी सन् १९४९ मा त्रिचन्द्र क्याम्पसमा मेरा सहपाठी थिए । कुपण्डोलमा बस्ने उनी गाँजा, चरेशको नियमित प्रयोग गर्दथे । पछि उनलाई म सुन्धारास्थित गोश्वारा हुलाकतिर देख्दथें । भेटका क्रममा उनी केहि दिनुहोस् भनि माग्दथे ।

तपाँईलाई पनि सिद्धिविक्रम शाह उर्फ ग्लोबल इम्पेररका बारेमा केहि थाहा छ भने कृपया कमेन्ट गर्नुहोला । 


 

सन्दर्भ सामाग्री

फोटो म्युजियम नेपाल

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  3. फाल्गुन २९, दशरथ रंगशालामा ९३ जना खेलप्रेमीले ज्यान गुमाएको दिन
  4. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  5. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  6. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  7. तानाशाह हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर
  8. जङ्गबहादुर राणाको तलब थियो होला ? त्यो बेला एक रुपैँयामा २२ माना मसिनो चामल आउँथ्यो।
  9. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  10. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल