पढ्न लाग्ने समय : 3 मिनेट
१८९८ मंसिर (सन् १८४१) महिनामा बहुलाएको हात्ती काबुमा ल्याउन सफल भएबापत तोपखानामा कार्यरत जंगबहादुर युवराज सुरेन्द्रको अंगरक्षकमा सरूवा भए । माघ महिनामा युवराजलाई मानसिक रोगले ग्रस्त बनायो । हावापानी बदल्न युवराजको टोली जंगबहादुर सहित त्रिशुली जाने भयो । करिब १ महिनाको त्रिशुली बसाइपछि युवराजको टोली काठमाण्डाै फर्कियो ।
उदण्ड स्वभावका युवराज सुरेन्द्र टहल्दै राजदरबार (हनुमानढोका दरबार) बाट खिचापोखरी हुँदै धरहरा नजिकै पुगे । त्यसबेला धरहराको मुख्यद्वारमा लगाइएको भोटे ताल्चाको साँचो जंगबहादुरका माइला भाइ बमबहादुर कुवँरसँग थियो । दिवंगत जनरल भीमसेन थापाले बनाएको भीमसेन स्तम्भ (धरहरा) निकैबेर हेरेपछि साथमा रहेका कप्तान जंगबहादुरलाई युवराजले धरहराबाट "हाम फाल" भने । कप्तान जंगबहादुरको सातो गयो । धरहराबाट हाम फाल्दा अवश्य ज्यान जाने निश्चित प्रायः थियो । जंगबहादुरले भाइ बमबहादुरलाई लुक्न आँखाको इसारा गरेपछि जंगबहादुरले भने "सरकार ! सरकारकै हुकुमबाट तल मुल ढोकामा भोटे ताल्चा लगाउन लगाइबक्सेर ढोका बन्द गराइएको हो तसर्थ ताल्चा तोड्नु मनासिब परोइन्, साथै सरकार ! हाल यहाँ १०-२० जवान मात्रै छाैं, १५ दिनपछि एक समारोहको आयोजना गरी धरहराबाट फाल हालेमा सबैले सो तमासा देख्न पाउनेछन् । तसर्थ १५ दिनपछि मात्र धरहराबाट फाल हाल्नु उपयुक्त हुन्छ । " जंगेको कुरा युवराजलाई चित्त बुझ्यो । उनी "लाै हुन्छ, जंगेले धरहराबाट फाल हालेको तमासा सबैले देखून्" भनी चुप लागे ।
कप्तान जंगबहादुरले तत्काल धरहराबाट फालहाल्नु नपरेपनि सन्की युवराजले कुनबेला "जंगे लाै फाल हाल् " भन्ने हो ? तसर्थ फाल हाल्नु नै परेमा के गर्न सकिन्छ, त्यस विषयमा सोच विचार गरी जंगबहादुरले शीघ्राती शीघ्र २ वटा बाँसका ठूल्ठूला हल्का तर मजबुत छाताहरू पाटनमा बनाउन अह्राए । जंगबहादुरको भाग्य बलियो, युवराजले उनलाई धरहराबाट फाल हाल्न लगाउने कुरो बिर्सिए साथै अरूले पनि सम्झाइ दिएनन् ।
फिल्ड मार्सल रूद्रशमशेरको कथनअनुसार वि.सं. १९५८ (सन् १९०१) सम्म पनि श्री ३ देवशमशेरको थापाथलीस्थित दरबारको गारतमा जंगबहादुरले निर्माण गराउन लगाएका २ वटा बाँसका विशाल छाताहरू राखिएका थिए ।
सन् १८४१ मा आधुनिक प्यारासुटको विकासले खासै व्यापकता नपाएको सन्दर्भमा जंगबहादुरको कल्पनालाई मान्नै पर्नेहुन्छ ।
विम्बात्मक तस्विर
सन्दर्भ सामाग्री
पुरूषोत्तमशमशेर जबरा
श्री ३ हरूको तथ्य वृतान्त
विकिपिडिया