पढ्न लाग्ने समय : 6 मिनेट
‘ल्हाकाः पालुं हाः पाः लाक हाः हाकनं छकः हाः .... अर्थात सबैले एकैचोटी उचालौं, मिलाएर उचालौं.........’ यस्तै उत्साहजनक एवं उल्लासपूर्ण स्वरहरु सुन्न सकिन्छ बनेपाको जात्रामा ।
बनेपा, जसलाई नेवार भाषामा भोंत भनिन्छ । काठमाडौंबाट २६ किलोमिटर टाढा काभ्रे जिल्लाको सुन्दर शहर हो– बनेपा ।
जहाँ हरेक वर्ष बुद्ध पूर्णिमाको दिन प्रसिद्ध चण्डेश्वरी माईको जात्रा सुरु हुन्छ । विशेष उत्सवको रुपमा मनाइने चण्डेश्वरी जात्राको धार्मिक तथा ऐतिहासिक महत्व छ ।
जात्राको पहिलो दिन बिहान सबेरै मत पूजा (चिराग यात्रा) निकालिन्छ । बनेपाका बासिन्दाले धिमे, नाय्खिं, छुस्या लगायत विभिन्न बाजागाजा सहित आस्था भएका सबैले आ–आफ्नो घरबाट चिराग बोक्दै बनेपाको लाय्कुमा जम्मा भई जलेश्वर महादेव (जसिगा) सम्म पुगेर विसर्जन गरिन्छ । मत पूजासँगै औपचारिक रुपमा जात्रा शुरु भएको मानिन्छ ।
चण्डेश्वरी देवतालाई लसःकुस अर्थात स्वागत गर्ने प्रतीकको रुपमा मत पूजा गरिएको मान्यता रहिअाएको छ । यस दिन जसिगाः अर्थात जलेश्वर महादेवमा मेला नै लाग्ने गर्दछ । यहाँ स्नान गरेमा शुद्ध भइन्छ भन्ने धार्मिक मान्यता छ । पूर्णिमाकै दिन बनेपाको तीनधारामा बनाइएको पांग्रा नभएको खटलाई भेडा बलि दिइएपछि देवता नभएको खाली खटलाई विभिन्न बाजागाजा सहित स्थानीय सयौं युवाहरुले बोकेर ल्हाका पालुं हाः भन्दै चण्डेश्वरी पुर्याउने गर्दछ । ‘ल्हाकाः पालु हाः अर्थात सबैले एकैचोटी उचालौं’ खटमा बसेका द्वारेले जब रथ उचाल्नको लागि यसरी बोलिरहन्छन्, तब खट बोक्ने युवाहरु एकैसाथ खट उचाल्छन् र कराउन थाल्छन् ‘हाः....... ।’
चण्डेश्वरी मन्दिरसम्म खट लैजाने क्रममा शीर मेमोरियल अस्पताल नजिकको उकालोको दृश्य भने निकै रोमाञ्चक हुन्छ र यसलाई धेरैले हेर्न छुटाउँदैनन् । यस उकालोमा खटलाई कतै नबिसाई एकैपटक माथि पुर्याउनुपर्छ भन्ने धार्मिक मान्यता रहिआएको छ । यसकारण ठाडो उकालोमा पनि खटलाई एकपटक पनि नबिसाई माथि पुर्याइन्छ । खटलाई मन्दिर नजिक पुर्याएपछि विधिपूर्वक पूजा गरि चण्डेश्वरी देवीको मूर्तिलाई खटमा राखिन्छ । देवीको मूर्तिलाई खटमा राखेपछि सबैभन्दा पहिला बनेपाका धलंछेँ साय्मि खलःबाट ल्याइएको पूजा गरेपछि मात्र अन्य भक्तजनहरुको पूजा लिने परम्परा रहिआएको छ । भोलिपल्ट बिहानसम्ममा सोही स्थानमा रहेको देवी सहितको खटलाई विधिपूर्वक पूजाआजा सकेर पुनः खटलाई बनेपाको वकुटोलतर्फ ल्याइन्छ ।
खटलाई प्राचीन लाय्कू दरबारसम्म पुर्याइन्छ र त्यहाँबाट चण्डेश्वरी देवीको मूर्तिलाई अर्को सानो खटमा राखेर पुनः वकुटोलमै ल्याइन्छ । यस स्थानमा मासु छर्ने जात्रा जसलाई नेवारीमा कलंदान भनिन्छ, पूजा गर्ने परम्परा रहँदैआएको छ । कलंदान पछि मूर्तिलाई सानो खटमा राखेर पुनः चण्डेश्वरीमा पुर्याएपछि जात्रा सकिन्छ ।
जात्राको क्रममा चण्डेश्वरी मन्दिर भित्र रहेका पिगं देवताहरुलाई १२ वटा बोका बली दिने गरिन्छ । १२ वटा बोका मध्ये एउटा बोका द्वारे र अर्को बोका जोशीलाई दिइने चलन छ भने बाँकी बोकाको मासु कलंदान गरिन्छ । कलंदान जात्रामा मासुलाई प्रसाद स्वरुप भीडमा फालिन्छ ।
प्रायःजसो राति हुने यस जात्रामा कलंदान गरेको मासु समात्न तँछाड मछाड नै हुने गर्दछ । चण्डेश्वरी जात्रामा बनेपाका स्थानीय मानन्धर, भोछिभोया, राजवाहक लगायतका सबै नेवार समुदायसँग प्रत्यक्ष सम्बन्ध रहने भएकोले यो जात्रालाई विशेष महत्वका साथ लिइने गरिएको छ । सबै समुदायसँग प्रत्यक्ष जोडिएको हुनाले यो जात्रालाई बनेपाका बासिन्दाले दशैं तिहारभन्दा ठूलो पर्वको रुपमा लिने गरेका छन् ।
धार्मिक कथन अनुसार दैत्यराज चण्डासुरले लामो समयसम्म तपस्या गरेपछि कुनै पनि पुरुषले आफूलाई मार्न नसक्ने वरदान पाए । त्यसपछि पाताल, मच्छेमण्डल र स्वर्गमा चण्डासुरले हाहाकार मच्चाउन थालेपछि उनीहरु भागेर बनेपाको चण्डेश्वरीमा अवस्थित रक्तचन्दन वनमा पुगे । स्वर्गका राजालाई समेत चण्डासुरले जितेपछि देवताहरुको भागाभाग भयो । देवताहरु ज्यान जोगाउनका लागि पन्छीको रुप धारण गरी वनबाट अलप भए । चण्डासुरका अनुयायीले रक्तचन्दन वनमा कोही नभएको र एउटी राम्री युवती चम्पक वृक्षभित्र बसेको बताएपछि चण्डासुरले वृक्षमा प्रहार गरे । त्यहाँबाट कुमारी चण्डेश्वरी प्रकट भइन, चण्डासुरलाई मार्न प्रयास गरिन् तर असफल भइन् । त्यसपछि उनी भगवतीको रुपमा प्रकट हुन्छिन र चण्डासुरको बध गरेर देवताको रक्षा गर्छिन् । यही खुसीयालीमा जात्रा मनाइँदै आएको धार्मिक कथन रहेको इतिहासविद्हरूको तक रहने गरेको छ ।
वि.संं २०२४, चण्डेश्वरी जात्रा उत्सव
अहिले पनि चण्डेश्वरी मन्दिर परिसरमा कुमारी चण्डेश्वरीको रुपमा दुई शिलास्तम्भ र त्यसमाथि दुई मयुर छन् भने भगवतीको रुपमा दुई शिलास्तम्भ र त्यसमाथि दुई सिंह रहेका छन् । यस मन्दिरसँग सम्बन्धित इसापूर्व ५११ को ताद्पत्र नै भेटिएकोले पनि चण्डेश्वरीको इतिहास धेरै पुरानो भएको मान्न सकिने इतिहासकारहरूको तर्क रहेको छ ।
सन्दर्भ सामाग्री
विभिन्न अनलाइनहरू
स्टीभ रिचर्ड ड्वेल
डउड हल