बेलायत पुग्ने पहिलो नेपाली, भक्तपुरका मोतिलाल सिंह

पढ्न लाग्ने समय : 3 मिनेट

वि.सं. १९०६ माघ ४ गते काठमाडौबाट बेलायत यात्राको लागी निस्केको जंगबहादुरको टोली निकै ठूलो थियो । १ हजार २०० सैनिकहरुको साथमा अन्य भाइभारदार, कर्मचारी, चित्रकार, भान्से, पण्डित सबलाई लगेका थिए, जंगबहादुरले बेलायत यात्रामा ।

यो टोली फागुन २ मा ढाका र फागुन २४ मा कलकत्ता पुगेपछि केही दिन त्यही घुम्नको लागी रोकियो । जगन्नाथ पुरीमा जंगबहादुरले ५००० रूपैंया मन्दिरलाई दान गरेका थिए । आजको रकममा परिवर्तन गर्ने हो भने यो करोडौ रूपैंया हुन आँउछ ।

चैत्र २७ गते बेलायतको लागी पानीजहाजमा यात्रा आरम्भ भयो । ५००० पाउण्ड रकममा भाडामा लिएको P & O Company को Haddington Steamer मा जंगबहादुरको यात्रा आरम्भ भए पछि बाह्र सय सैनिकले बिदाइ गर्दा सबै सैनिकहरू धेरै समयसम्म रूदैं समुन्द्र हेर्दै बसेका थिए । उनिहरूको सोचाइमा समुन्द्री यात्रा डरलाग्दो हुन्छ तसर्थ महाराजा अब कहिल्यै फर्केर आउने छैनन् ।

मद्रास, सिलोन (श्रीलंका), एडेन (यमन), स्वेज (इजिप्ट), काइरो (इजिप्ट), एलेक्जेन्ड्रिया, जिब्राल्टर हुँदै जेठ १४, १९०७ मा बेलायतको दक्षिण Southampton Harbour मा करिब साढे चार महिना पछि बल्ल पुग्न सफल भए ।

सबैको मान्यता जंगबहादुर यूरोप पुग्ने पहिलो नेपाली थिए । तर जंगबहादुर लण्डन पुगेको दुइ दिनमा नै सडकमा घुम्दै गर्दा अचानक सडकमा कुचो लगाएर माग्दै गरेको नेपाली माथी जंगबहादुरको आँखा पुग्यो । उनले बोलाएर सबैकुरा सोधे । त्यसपछि कहिले कसरी बेलायत पुगेको सबै सविस्तारमा वर्णन गरे उनले ।

उसको नाम मोतीलाल सिंह थियो, भक्तपुरमा जन्मेका सिंह १९ बर्षको उमेरमा अंग्रेज नेपाल युद्धमा घाइते भएकामा उनलाई अंग्रेज सेनाले कब्जामा लिएका थिए । उसको बहादुरीबाट खुशी भएका अंग्रेज सैनिक अधिकारीले उनलाई वि.सं . १८७१ मा गठन भएको 1st Gurkha Rifle मा सैनिकको रूपमा भर्ति गराइदिए । अंग्रेजी बाेल्न सिकेका उनले पछि कलकत्तामा विवाह गरेर बालबच्चा पनि भयो । यसरी खुशीसाथ बसेको उसलाई एक दिन एक ब्रिटिस क्याप्टेनले बेलायत जाने सपना देखाए । उनी क्याप्टेनको साथ वि.सं. १९०० तिर लण्डन पुगे । केही दिनमा भएको पैसा पनि चोरी भयो र लण्डनको सडकमा बेवारिसे भए । मागेर खाने र St. Paul चर्चमा बस्ने तथा कुचो लगाउने काम गर्न थाले ।

१९०७ जेठ १६ मा जंगबहादुरको नजर परेपछि जंगबहादुरले उनलाई उसको दुःखद परिस्थितिबाट मात्र मुक्त गरेनन् । उनलाई आफ्नो यात्रा भरी दोभाषेको रूपमा साथ राखे । आफू जहाँजहाँ गए सबै ठाँउमा सम्मान साथ उसलाई लिएर गए । मोतिलाल सिंहले जंगबहादुरलाई महत्वपूर्ण ठाउँ मात्र घुमाएनन् त्यहाँको सविस्तार वर्णन पनि गरे । बेलायत यात्रा सकिएपछि जंगबहादुरका साथ उनी पेरिस पुगे। तर जंगबहादुर नेपाल फर्कंदा मोतिलाल फर्कन मानेनन् ।

प्रस्तुतीः सुनिल उलक 

सन्दर्भ सामाग्री
इकान्तिपुर

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  3. फाल्गुन २९, दशरथ रंगशालामा ९३ जना खेलप्रेमीले ज्यान गुमाएको दिन
  4. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  5. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  6. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  7. जङ्गबहादुर राणाको तलब थियो होला ? त्यो बेला एक रुपैँयामा २२ माना मसिनो चामल आउँथ्यो।
  8. जंग बहादुरले जीवनभर दाँया खुट्टाको जुत्ता बायाँको भन्दा एक नम्बर ठुलो लगाउन पर्यो
  9. तानाशाह हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर
  10. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल