पढ्न लाग्ने समय : 9 मिनेट
सगरमाथा दिवस प्रत्येक वर्ष मे महिनाको २९ तारिखमा मनाइने राष्ट्रिय दिवस हो । सन् १९५३ को मे २९ तारिखमा एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथा हिमालको सफल आरोहण गरेको सम्झना स्वरुप यो दिवस मनाउन सुरु गरिएको हो ।
नेपालले वि.सं. २०६४ देखि यस दिनलार्इ सगरमाथा दिवसका रूपमा मनाउन थालेको हो । पहिलो सगरमाथा आरोहीद्वय तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीको मृत्युपछि उनीहरुको सम्झनामा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउन थालिएको हो । शेर्पाको २६ वैशाख २०४३ मा मृत्यु भएको थियो भने हिलारीको २७ पुस २०६४ मा निधन भएको थियो ।
वि.सं २०६४ सालमा सोलुखुम्बुको लुक्ला विमानस्थलाई तेन्जिड हिलारी विमानस्थल कायम गरिएको थियो भने चोयू र सगरमाथाबीचमा रहेका ७ हजार मिटरका दुई हिमाललाई दुवै आरोहीको नाममा एउटालाई तेन्जिङ र अर्कोलाई हिलारी पिक नामकरण गरियो ।
सगरमाथामा अहिलेसम्म करीब ७ हजार जनाले पाइला टेकिसकेका छन् । पछिल्ला वर्षमा पाँच सय जना भन्दा बढीले सगरमाथा चुम्न थालेका छन् । सगरमाथा आरोहणका लागि भने वर्षेनि १५ सय जना आधार शिविर पुग्ने गरेको बताइन्छ ।
सर्वोच्च हिमाल सगरमाथा ८ हजार ८४८ मिटर आरोहणका क्रममा हालसम्म करिब ३ सयले निधन भइसकेको छ भने आरोहणका विभिन्न नयाँ विश्व किर्तिमान पनि कायम भइरेका छन् ।
जापानी नागरिक स्व. जुन्को तावेईको नाममा विश्वकै पहिलो महिला सगरमाथा आरोहीको किर्तिमान रहेको छ ।
सोलुखुम्बुकी स्व. पासाङल्हामु शेर्पाको नाममा सगरमाथा चढ्ने प्रथम नेपाली महिला आरोहीको किर्तिमान रहेको छ, उनले वि.सं २०५० वैशाख १० गते सगरमाथाको आरोहण सफलतापूर्वक सम्पन्न गरेकी थिइन् तर शिखरबाट फर्कने क्रममा उनको निधन भयो ।
यो पनि पढ्नुहोस् तेन्जिङ नोर्गे शेर्पा नेपाली नागरिक कि विदेशी !
अनेक नाम र आरोहणको इतिहास
विश्वकै अग्लो हिमशिखर सगरमाथा आरोहण इतिहासको कुरो गर्दा सबैभन्दा पहिले सगरमाथा आरोहण गर्ने प्रयास सन् १९२१ मा बेलायती सेनाका लेफ्टिनेन्ट कर्नेल चाल्र्स हवार्ड बरीको नेतृत्वमा भएको थियो । खासगरी सन् १८५५ मा यो हिमालको उचाइ ८ हजार ४० मिटर हो भनी पत्ता लागेपछि आरोहणका लागि बेलायतलगायत अन्य युरोपेली पर्वतारोहीहरूले यो हिमालमाथि विजय पाउनका लागि आरोहण अभियान थालेका थिए । त्यसो त सगरमाथाको सुरुदेखिको असली र खास नाम चोमोलुङ्मा थियो-हो, तापनि देवढुङ्गा, भैरवनाथ, चरी लमेनी, मितीगुती, थर्ड–पोल, द गडेस मदर अफ द अर्थ, चा–पो–लुङ्मालगायत डेढ दर्जनभन्दा बढी नामले चिनिन्थ्यो-चिनिन्छ । त्यो बेला नेपालतर्फबाट सगरमाथा आरोहण गर्ने वा सो क्षेत्रमा जाने अनुमति नभएकाले गर्दा अंग्रेज टोली तिब्बतको १३ औं दलाई लामाबाट सन् १९२० मा अनुमति पाएपछि सन् १९२१ मा पहिलो पटक सगरमाथातर्फ लाग्यो । यसरी सन् १९२१-३८ बीचमा दुई पटक सगरमाथा आरोहण गर्ने र रेखी (नापजाँच) काम पनि भयो । टोलीका सदस्य डा. एएम कल्लसको मृत्यु भयो ।
दोस्रो विश्वयुद्धपछि नेपालले सगरमाथा आरोहणका लागि खुला ग-यो । फलतः सन् १९४९ मा स्वीजरल्यान्डका पर्वतारोही टोली पहिलो पटक सिक्किम हुँदै नेपालको पूर्व (कञ्चनजंघा क्षेत्र) को ७ हजार १ सय २३ मिटर अग्लो पिरामिड हिमाल आरोहण गर्न सफल भयो । लगत्तै सन् १९५०–५१ मा बेलायती पर्वतारोही टोली नेपालको भूमि हुँदै सगरमाथातर्फ गए, तर उनीहरूले पनि सगरमाथाको शिरमा पाइला राख्न सफल भएनन् । त्यस्तै सन् १९५२ मा स्वीस टोलीले नेपालतर्फबाटै एकै वर्षमा दुई पटक सगरमाथा आरोहण गर्ने प्रयास गरे, तर उनीहरूले पनि सगरमाथा आरोहणमा पूर्ण रूपमा विजय पाउन सकेनन् । यसरी सगरमाथा आरोहणको इतिहास हेर्दा लगभग ३० वर्षको प्रयासमा सन् १९५३ मे २९ मा सगरमाथा आरोहणमा मानव सफलता मिलेको थियो । स्मरणीय छ, सो वर्ष नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका एडमन्ड पर्सिभल हिलारी (त्यो बेला न्युजिल्यान्ड बेलायतकै अधिनस्थ थियो) ले सगरमाथा आरोहणमा प्रथम पटक सफलता प्राप्त गरे । उनीहरू बेलायती टोलीमा सहभागी भएका थिए ।
लगभग ६७-६८ वर्षको इतिहासमा सगरमाथा आरोहणका क्रममा अनेक खाले किर्तिमानको लर्को लागेको छ । जस्तो, पहिलो पटक एक्लै सगरमाथा आरोहण गर्ने इटलीका रेनहोलड मेस्नर हुन् । उनले सन् १९८० मे १९ मा सफलता पाएका थिए । त्यस्तै उत्तर दिशाबाट पहिलोचोेटि सगरमाथा आरोहण गर्नेहरूमा चिनियाँ नागरिक वाङ फु चोउ, गोम्पा र चु यिङ हुन् । उनीहरूले सन् १९६० मा सफलता पाएका थिए । सगरमाथामा मानव पाइला पुगेको २२ वर्षपछि पहिलो महिला सगरमाथा आरोहीका रूपमा जुन्को ताबेईले सफलता पाइन् । उनले सन् १९७५ मे १६ मा सफलता पाएकी थिइन् । त्यस्तै नेपाली प्रथम सगरमाथा आरोही महिला पासाङल्हामु शेर्पा हुन् भने धेरै पटक सगरमाथा चढ्ने महिला ल्हाक्पा शेर्पा हुन् । उनले आठ पटक सगरमाथा आरोहण गरिसकेका छन् । पहिलो पटक बिनाअक्सिजन सगरमाथा आरोहण गर्ने रेनहोलड मेस्नर र पिटर हब्लर हुन् । उनीहरूले सन् १९७८ मे. ८ मा बिना अक्सिजन सगरमाथा आरोहण गरेका थिए । सगरमाथाको शिखरमा धेरै समय बिताउने स्व. बाबुछिरी शेर्पा हुन् ।
पर्वतारोहीहरूले सगरमाथामाथि अनेक किर्तिमान राखेका छन् । यसरी किर्तिमान राख्ने क्रममा प्रथम विवाहित जोडीमा दर्ज हुने अवसर भने युगोस्लाभियाका एन्ड्रेज र मारियाले पाएका छन् । उनीहरूले ७ अक्टोबर, सन् १९९० मा सगरमाथाको सफलतापूर्वक आरोहण गरेका थिए । त्यस्तै समुद्रदेखि सगरमाथाको शिरसम्म अर्थात् ‘सी टू समिट’ गर्ने अस्ट्रेलियाली नागरिक टिम म्याकार्टनी स्नेप हुन् । सो सफलता उनले सन् १९९० मा पाएका हुन् । हिजोआज सगरमाथा आरोहणमा ख्याति कमाउने साहसिक खेल तथा मानसिक सन्तुलनका लागि खेलिने साहसिक खेललाई एकालाप र शान्तिको खोजका रूपमा भन्दा पनि व्यावसायिक आरोहणको रूप लिइसकिएको छ । त्यसको ज्वलन्त उदाहरण भनेको सन् २०१९ को मे महिनामा सगरमाथामा आरोहणका क्रममा भएको भीडभाडलाई लिन सकिन्छ, जुन भीडभाडलाई देखेर सगरमाथाको अस्तित्व चिरकालसम्म कायम रहोस् भनी सान्त्वना दिने धेरै वातावरणविद्ले चिन्ता व्यक्त गरेका थिए ।
पर्वतारोहणको ऐतिहासिक तालिका
सन् १८५२ - भारतीय अनुसन्धान : भारतीय नापी अनुसन्धानबाट सगरमाथालाई विश्वको सर्वोच्च शिखरको रूपमा पहिचान गरी महासर्भेएर सर आन्ड्रयू वाहले पन्ध्रौ चुली नामाकरण गरे ।
सन् १९२१ - संयुक्त अधिराज्य : हवार्ड वरी र जि.एल्.मालोरी २२,९०० फिट उचाइको उत्तरी पहाडी खोंचमा आरोहण गरे ।
सन् १९२२ - संयुक्त अधिराज्य: पहिलो सगरमाथा आरोहणको जनरल् चार्लसको नेतृत्वमा जि.एल्.मालोरी, ई.एफ्.नर्टन र हवार्ड समरभेल एवम् एकजना शेर्पा अक्सीजन विना २६००० फिटको - ७९३९ मिटर) आरोहण गरे । गर्ज फिन्च र जे.जि.व्रस अक्सीजन लिएर २७,३०० फिट -८३०० मिटरको उचाइमा पुगे ।
सन् १९२४ - संयुक्त अधिराज्य दोस्रो साहसिक यात्रामा जनरल चार्लसको नेतृत्वमा जनरल् चार्लस र ई.एफ्.नर्टन २८,१२६ फिट -७,५८० मिटर उचाइमा पुगे । मालोरी र आन्ड्रयू अरभिन २७,६०० फिटको उचाइमा वेपत्ता भए ।
सन् १९३३ - हृयू रटल्जको नेतृत्वमा गएको तेस्रो आरोहणमा २८१२६ फिट -७,५८० मिटर उचाई चढने काम भयो ।
सन् १९३५ - संयुक्त अधिराज्य: एरिक शिपटनले अनुसन्धान दलको नेतृत्व गरे ।
सन् १९३६ - संयुक्त अधिराज्य: हग रटल्जको नेतृत्वमा गएको चौथो आरोहण दल खराब मौसमका कारण फर्कियो ।
सन् १९३८ - संयुक्त अधिराज्य: एच. डब्लु. टिलमनको नेतृत्वमा भएको पाचौँ आरोहण कार्य खराब मौसमको कारणले स्थगित गरियो ।
सन् १९५० - संयुक्त अधिराज्य: एच. डब्लु. टिलमन र चार्लस हुस्टनले खुम्बु हिमनदीको निरीक्षण गरे ।
सन् १९५१ - संयुक्त अधिराज्य: ई. शिपटनले शिखरमा जाने दक्षिण बाटोको निरीक्षण गरे ।
सन् १९५२ - स्वीजरल्याण्ड: ई. वाईस डुनन्टको नेतृत्वको प्रथम आरोहण कार्य वषरा अघिको मौषममा सम्पन्न भयो । रेमण्ड लम्बर्ट र तेन्जीङ्ग नोर्गे २८,२०० फिट -८,६०० मिटर उचाईमा पुगे ।
सन् १९५३ - संयुक्त अधिराज्य: कर्नेल जोहन हन्टको नेतृत्वमा आरोहण दलका एडमण्ड हिलारी र तेन्जीङ्ग नोर्गे मे २९ को दिन सगरमाथाको शिरमा पुगे ।
सन्दर्भ सामाग्री
विकिपिडिया
हिमालखबर
रातोपाटी
क्लिकमाण्डु
Royal Geographical Society