तीन गजजति गुलाफी रंगको कपडाको व्यवस्था गरेर ज्ञानेन्द्रको शिरमा बेरेपछि बल्ल श्रीपेच अडियो

पढ्न लाग्ने समय : 6 मिनेट

'वि.सं. २०५८ मा राजा वीरेन्द्रको वंशनाश भएपछि ज्ञानेन्द्र शाह दोस्रोपटक मुलुकको राजा बनेका थिए । टेलिभिजनमा प्रत्यक्ष प्रसारण हेर्दा उनले बेलाबेला आफ्ना दुवै हातले श्रीपेच समातेर मिलाएजस्तो देखिन्थ्यो । ००७ सालमा उनले पहिलोपटक श्रीपेच पहिरेको देखेका हाम्रा लागिचाहिँ उनको त्यो व्यवहार अनौठो थिएन । बरू, नाबालक अवस्थामा श्रीपेच लगाएको घटनाले उनलाई झस्काएको थियो कि !

तत्कालीन शाहज्यादा ज्ञानेन्द्र सानै उमेरदेखि बोलक्कड र चलाख थिए । टाउको हल्लाउने र आफूलाई गम्भीर भावमा देखाउने गर्थे । उनको त्यस्तो व्यवहार मोहनशमशेरले सिंहदरबारमा भित्र्याएदेखि नै देखिएको हो ।

२१ कात्तिक ००७ मा सपरिवार भारतीय दूतावासको शरणमा गएका राजा त्रिभुवन २४ कात्तिकमा भारतीय सुरक्षा फौजको विशेष निगरानीमा विमानस्थल हुँदै नयाँदिल्ली प्रस्थान गरे । उनी भारत जानुअगावै श्री ३ मोहनशमशेरले मामाघर बागदरबारमा छाडिएका राजा त्रिभुवनका माहिला र कान्छा नाति ज्ञानेन्द्र र धीरेन्द्र शाहलाई सिंहदरबारमा ल्याए । कारण थियो, नाबालक ज्ञानेन्द्रलाई गद्दीमा बसालेर राजकाज चलाउने उनको अठोट ।

दुवै शाहज्यादालाई सिंहदरबारमा ल्याइसकेपछि २२ कात्तिकमा भारदारी सभा डाकियो । त्यो, सेनातर्फका मेजरदेखि माथिका र कर्मचारीतर्फ मीरसुब्बादेखि माथिका केही गन्यमान्यको मात्र उपस्थिति रहेको सभा थियो । त्यही सभाले ‘नेपालको कानुन विधानको अपहेलना गर्दै प्राइममिनिस्टरको राय नलिई विदेशी दूतावासमा शरण लिएकोमा’ राजा त्रिभुवनलाई राज्यच्यूत गरिएको घोषणा गर्‍यो । साथै, परम्परा अनुसार ‘राजगद्दी खाली राख्न नहुने भएकाले नाबालक ज्ञानेन्द्रलाई राजगद्दीमा आसिन गराउनु उयुक्त हुने’ ठहर पनि गर्‍यो ।

मोहनशमशेरले त्यो सभालाई सम्बोधन गर्दै देखावटी या औपचारिकताका लागि ‘सबैको के राय सल्लाह छ ?’ भनेर सोधेका थिए । किनभने, नाबालक ज्ञानेन्द्रलाई राजा बनाउने मनसुवाले नै मामाघरमा छोडिएका दुई शाहज्यादालाई दरबारमा भित्र्याइएको थियो । सिंहदरबारको दोस्रो तलाबाट ठूलठूलो स्वरमा ‘हामीले यस्तो निर्णय गरेका छौँ, सबैको के राय छ’ भनेको सिंहदरबारको पहिलो चोकमा समेत प्रस्टसँगै सुनिएको थियो । धेरैले ‘त्यसै गर्नुपर्छ सरकार !’ भन्दै होमा हो मिलाए । तर, गयाप्रसाद शाहले फरक मत प्रस्तुत गरे । उनले ‘एकपटक भारतीय दूतावासमा कसैलाई पठाएर सरकारको फिर्ती सवारीका लागि बिन्ती गर्नु मनासिब होला कि’ भनेका थिए ।

तर, उनको कुरा कसले सुन्ने ? राजा त्रिभुवनलाई गद्दीच्यूत गरी ज्ञानेन्द्रलाई राजा बनाउन एकछिन पनि ढिला गर्नु हुँदैन भन्ने मेघराजशमशेरहरूका अगाडि शाहको आवाज फिका साबित भइहाल्यो । त्यसबीचमा मोहनशमशेरले भारतीय दूतावासमा छोरा विजयशमशेरलाई पठाएर राजा त्रिभुवनलाई फिर्ता बोलाउने प्रयास नगरेका पनि होइनन् । तर, राजाले विजयशमशेरलाई भेट्नै चाहेनन्, यस घटनाले पनि मोहनशमशेर रिसले आगो भएका थिए ।

२३ कात्तिकको बिहान राजकाजसम्बन्धी जरुरी काम गर्नुपरेकाले भाइ–भारदार र सम्बन्धित कर्मचारीलाई सिंहदरबारमा उपस्थित हुन विशेष प्रकारको उर्दी जारी गरिएको थियो । हामी त्यस दिन सबेरै सिंहदरबार पुग्यौँ । अघिल्लो दिन नै पाटनका सूचीकार बोलाएर नाबालक ज्ञानेन्द्रका लागि तासको सेरबानी र त्यही सुहाउँदो सुरुवाल सिलाउन लगाइएको थियो । गद्दी आरोहणमा जाने बेला ज्ञानेन्द्र त्यही पोसाकमा थिए ।


 

मोहनशमशेर आफ्नो बैठककक्षबाट तल पहिलो चोकमा झरे र ज्ञानेन्द्रलाई चोर औँला समाउन लगाएर डोर्‍याउँदै सिंहदरबारको चोकमा ल्याए । ज्ञानेन्द्रका लागि पहिले नै बग्गी सजाएर राखिएको थियो । त्यही बग्गीमा पहिले मोहनशमशेर चढे र हात दिएर ज्ञानेन्द्रलाई माथि ताने । सेनाले सलामी दियो । मोहनशमशेरले सलामी ग्रहण गर्ने तरिका पनि त्यहीँ सिकाए । त्यसपछि दुवै जना ‘सेरेमोनियल प्रोसेसन’का साथ त्यही बग्गीमा सँगसँगै बसेर हनुमानढोकातर्फ लागे । हामी पनि सवारीको पछिपछि हनुमानढोकातर्फ लाग्यौँ ।

सिंहदरबारदेखि हनुमानढोकासम्म दुवैतिर लहरै सेनाको पहरा थियो । बाटो चकमन्न र सुनसान थियो । भद्रकालीबाट त्रिपुरेश्वरतर्फ जाने, धरहरातर्फ लाग्ने र नयाँ सडकमा केही मानिस जम्मा भएर बग्गी र पछिपछि लागेका हाम्रा गाडी नियालिरहेका थिए । तर, कसैले पनि नाराबाजी गरेको सुनिएन । हनुमानढोका पुगेपछि शाहज्यादा ज्ञानेन्द्रलाई सिंहासनमा बसाइयो । बालकमा हुने स्वाभाविक चञ्चलता उनमा देखिएन । गम्भीर मुद्रामा थिए उनी ।

विशेष साइतमा राज्याभिषेकको काम अगाडि बढ्यो । पण्डितहरूले मंगलोच्चारण र अन्य विधि सम्पन्न गरेपछि नायब बडागुरुज्यू हेमराज पाण्डेले श्रीपेच लगाइदिए । तर, त्यो श्रीपेचले ज्ञानेन्द्रका आँखा मात्र होइन, नाक–मुख पनि छोपिदियो । उनी केही अत्तालिए । नायब बडागुरुज्यूले त्योश्रीपेच झिक्न खोजे । तर, कसैले लगाइसकेको श्रीपेच झिक्नु अपशकुन हुन्छ, तसर्थ माथि सारेर हातले समातेर बस्न सल्लाह दिएपछि एकछिन नायब बडागुरुज्यू श्रीपेच समातेरै बसे । त्यहीबीचमा हतारहतार तीन गजजति गुलाफी रंगको कपडाको व्यवस्था गरेर ज्ञानेन्द्रको शिरमा बेरियो र त्यसपछि बल्ल श्रीपेच अडियो । वास्तवमा त्यतिबेला बालक ज्ञानेन्द्रले टुलुटुलु हेरेको दृश्य ज्यादै मर्मस्पर्शी थियो ।

ज्ञानेन्द्रले त्यसरी श्रीपेच लगाएको झन्डै चार महिनापछि ७ फागुन ००७ मा मुलुकमा प्रजातन्त्र आयो । राजा त्रिभुवनलाई स्वदेश फर्काइयो र राजगद्दीमा पुन: आसिन गराइयो । तर, ती नाबालक राजाको इतिहास स्वर्ण अक्षरले लेखियो कि कालो अक्षरले, इतिहासका विद्यार्थीले जान्ने कुरा हो । तर, इतिहास त इतिहास नै हो ।' लक्ष्मणप्रसाद रिमालकाे स्मरण

सन्दर्भ सामाग्री

विभिन्न सामाजीक सञ्जाल
नेपाल साप्ताहिक
Historical Images

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  3. फाल्गुन २९, दशरथ रंगशालामा ९३ जना खेलप्रेमीले ज्यान गुमाएको दिन
  4. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  5. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  6. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  7. जंग बहादुरले जीवनभर दाँया खुट्टाको जुत्ता बायाँको भन्दा एक नम्बर ठुलो लगाउन पर्यो
  8. जङ्गबहादुर राणाको तलब थियो होला ? त्यो बेला एक रुपैँयामा २२ माना मसिनो चामल आउँथ्यो।
  9. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  10. तानाशाह हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर