पोखराको पहिलो अस्पताल

पढ्न लाग्ने समय : 4 मिनेट

वि.सं. २००२ सालतिर पोखरामा औलो तथा झाडापखालाको प्रकोप निकै बढ्यो जसको उपचारमा १९९० सालतिर खुलेको विन्द्यावासिनि मन्दिर नजिकैको वैद्यखानाले निकै प्रयास गर्यो । साथै तेर्सापट्टीका वैद्यहरुले पनि उपचार गरिरहेका थिए तर रोग अझ व्यापक भएपछि राणा बडाहाकिम धनशम्शेरले गाँउघरमा पाइने जडिबुटीबाट गरिने होमियोप्याथिकको वैद्य उपचार भन्दा भरपर्दो र विश्वासिलो हुने भन्दै आधुनिक उपचार पद्धती एलोपेथिक उपचार गर्न वैद्यखानाको शुरुवात गरे ।

रानीपौवामा महेन्द्र बटालियन रहेको अहिलेको आर्मी ब्यारेक रहेको स्थानमा मिलिसिया अड्डा थियो (सैनिकहरु मिलिसियाका नामले चिनिन्थे) । त्यहिँ खरको झुप्रोमा पोखराको पहिलो अस्पताल खोलिएको थियो । यस अस्पताल (वैद्यखाना)मा  कम्पाउण्डरको रुपमा गणेशलाल रञ्जित पोखरा आएका थिए । सेनाका जागिरे गणेशलाल केही महिनाको तालिम पछि पोखरामा आइपुगेका थिए । पोखरामा कोही विज्ञ नभएको समय उनी नै पोखराको पहिलो डाक्टर झैं भएका थिए । उनले एलोपेथिक दबाई बाट उपचार गर्दथे । यस अस्पतालको शुरुवातको केही समय पछि वि.सं. २००४ सालमा काठमाडौका दयाविर सिंह कंसाकारले पोखरामा पनि परोपकार औषधालयको शाखा खोले ।

डा. कार्ल इ. टेलर

वि.सं. २००६ सालको पौष तिर त्यतिबेला औषधी विभागमा डाइरेक्टर थिए मेजर जनरल सुरशम्शेर जङबहादुर राणा । यसैबखत अमेरिका स्थित "सिकागो नेचुरल हिस्ट्री म्यूजियम" का चिकित्सक डा. कार्ल इ. टेलर नेपाल आइपुगेका थिए । नौतनवा हुँदै नेपाल पसेका उनले केही समय पाल्पाको साइनिङ हस्पिटलमा सेवा गरे । तीन महिनाको नेपाल बसाइमा उनले पाल्पापछि रिडी हुँदै बलेवा-बागलुङ हुदै जोमसोम सम्म पुगे भने त्यसपछि पोखरा आइपुगे ।



पोखरामा आइपुग्दा उनले पोखरामा अस्पतालको रुपमा रहेको खरको 'झुपडी"मा एक कम्पाउण्डरले सेवा गरिरहेको भेटे । केबल दुई  महिनाको साधारण तालिम प्राप्त गरेका व्यक्ति नै अस्पतालका प्रमुख थिए, गणेशलाल रञ्जित (तस्वीरमा, अस्पताल अघिल्तिर रञ्जित)। पोखराको केही समय बसाइका आधारमा डा. कार्ल इ. टेलरले "मेडिकल सर्भे अफ दि कालिगण्डकी एण्ड पोखरा भ्याली' भनेर लेख नै तैयार पारेका थिए । पोखरा बसाइका क्रममा उनले ८६६ जना बिरामीको उपचार गरेका थिए ।

यो अस्पताल हालको शोभाभगवतीको मन्दिर भन्दा उत्तर पूर्वमा रहेको थियो । यो अस्पतालको पश्चिममा आकाशवाणी अड्डा खुलेको थियो । जसलाई पछि दुरसञ्चार भनियो र महेन्द्रपुल हुलाकसँगै स्थापना गरियो । सेवा सञ्चालन विस्तारका क्रममा दुरसञ्चारलाई स्थानको अभावले फेरी रानीपौवामा दुरसञ्चारको कार्यालय राखियो ।

डा. कार्ल इ. टेलर स्वदेश फर्किएको तीन सालपछि कान्छी डाक्टर (रूथ वाटसन) तथा ठूली डाक्टरको समुहको पोखरा आगमन भएको भयो । उहाँहरुको प्रयासले नै साइनिङ हस्पिटलको जन्म भयो । जस्तापाताले घेरिएको सानो घरलाई अस्पतालको रूप दिइ कान्छी डाक्टरको समुह पोखरेलीको सेवा लागे । जस्तापाताको घर टाढाबाट हेर्दा घाम लागेका बखत टलक्क टल्किन्थ्यो अनि सबैले नाम टल्किने अस्पताल वा साइनिङ अस्पतालका नामले चर्चित भयो ।

साइनिङ अस्पताल

यस सम्बन्धी सम्पूर्ण जानकारी डेभिड हकरले लेख्नुभएको "कान्छी डाक्टर रुथ वाटसन" नामक कान्छी डाक्टरको जीवनीको पुस्तकमा लेखिएको छ ।

सन्दर्भ सामाग्री

सुनिल उलक 
डा. कार्ल इ. टेलर
inf.org

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  3. फाल्गुन २९, दशरथ रंगशालामा ९३ जना खेलप्रेमीले ज्यान गुमाएको दिन
  4. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  5. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  6. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  7. तानाशाह हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर
  8. जङ्गबहादुर राणाको तलब थियो होला ? त्यो बेला एक रुपैँयामा २२ माना मसिनो चामल आउँथ्यो।
  9. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  10. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल