शिकार कूटनीति

पढ्न लाग्ने समय : 23 मिनेट

सुनिल उलक ✍

राणाकालमा अंग्रेज सरकारसंगको सबैभन्दा सफल कूटनीति नै शिकार कूटनीति थियो । अंग्रेज सरकारसंग केही कुरा पुरा गर्नु थियो वा आफ्नो स्वार्थ पुरा गर्नुछ भने राणा श्री ३ हरु अंग्रेज सरकारका उच्च पदस्थ वा राजा युवराजहरुलाई नेपालको जंगलहरुमा शिकार खेल्न निम्तो पठाउँथे । यसरी विशेष निम्तो पाए पछि अंग्रेज शासकहरु असंख्य जंगली जनावरहरुको शिकार गर्दथे । खासै भनौ भने यो कुनै शिकार जस्तो हुदैनथ्यो । चारैतिरबाट घेरिएर भाग्न असफल बाघ, भालु, गैडा तथा अन्य जनावरहरुको सहज र सुरक्षित शिकार गर्दथे । ति विशिष्ट पाहुनाहरुले हानेको गोलीबाट नै जनावर मर्दथे वा नजिकै रहेका नामुद शिकारीको गोलीले मारिएका हुन् भन्ने कसैले पनि थाहा नै पाउँदैनथे । हप्तौको शिकार पछि मारिएका जनावरहरुका छाला टाँसेर सुकाइन्थे र सजावटको लागि दरबार लगिन्थे । मासु भने हजारौ सहयोगी मजदुर तथा विशिष्टहरुको आहार हुने गर्दथ्यो । मारिएका जनावरहरुको संख्या ठूला अक्षरले इतिहास बन्दथे । तर शिकारको क्रममा जंगली जनावरको आक्रमण तथा बिरामी भएर मरेका मजदुरहरुको कुनै आंकडा कतै उल्लेख नै हुँदैनथ्यो । तिनका लाशहरु अन्जान जंगलमा गाडिन्थे वा जंगली जनावरहरुको आहारको लागि जंगल मै फ्यालिन्थे । शिकारको समाप्ति पछि स्वदेश फर्केका अंग्रेज शासक राणा महाराजाको लागि कुनै तक्मा घोषणा गर्दथे । तर ति मजदुरहरुको नाम कतै उल्लेखसम्म हुँदैनथ्यो ।


सबैभन्दा बढी जनावर जुद्धशम्शेरको शिकार तथा उनको समय आएका पाहुनाहरुको गोलीको कारण मारिए । जुद्धशम्शेरको शासनकालमा ४३३ बाघ, ५३ गैडा, ९३ चितुवा तथा २२ जंगली भालु मारिएका थिए । जंगबहादुरको शासनकालमा जम्माजम्मी २६ बाघ मारिएका थिए।


शिकार कूटनीति कति असहज लाग्दछ नाम सुन्दा पनि । कसैको मृत्युले राणाहरुको प्रशस्ती गायन हुने एउटा इतिहासका कथाहरु । शिकार कूटनीतिको शुरुवात जंगबहादुरको पालामा भएको थियो । वि.सं. १९३२ को माघमा पश्चिम बनवासामा बेलायती युवराज अल्बर्ट एडवर्ड (पछि राजा एडवार्ड सातौँ) शिकार खेल्न आएका थिए । वि.सं. १९०६ को माघमा बेलायत पुगेका जंगबहादुर बेलायती शासकहरुको प्रिय भइसकेका थिए । त्यसपछि लखनउका सुल्तानको विरुद्ध लड्न गोर्खाली सैनिकहरुको साथ जंगबहादुर स्वयं पुग्दा अझ बढि प्रभावित भए । वि.सं. १९१४ असार २० मा ६ वटा गोर्खा रेजिमेन्टको नेतृत्व गर्दै जंगबहादुर लखनउका लागि काठमाडौबाट हिँडेका थिए । यसरी बेलायतलाई हरतरहले खुशी बनाउन सफल जंगबहादुरले रानी भिक्टोरियालाई युवराज अल्बर्ट एडवर्डको नेपालमा शिकार यात्राको अनुमति दिलाएका थिए । अहिलेको शुक्लाफाँटा आरक्षण रहेको भू-भागमा शिकारको आयोजना गरिएको थियो । दुई हप्ताको शिकारमा २३ बाघ मारिएका थिए । यसको तीन वर्ष पछि अंग्रेजले नेपाललाई नयाँ मुलुकको रुपमा रहेको बाँके, बर्दिया, कैलाली र कञ्चनपुरको करिव ९२०० वर्ग कि.मी क्षेत्र नेपालले फिर्ता पाएको थियो ।


वि.सं. १९३२ को माघमा पश्चिम बनवासामा बेलायती युवराज अल्बर्ट एडवर्ड (पछि राजा एडवार्ड सातौँ) शिकार खेल्न आएका थिए । 


जंगबहादुरको यो कूटनीतिक प्रयासको रुपमा युवराज एडवर्गको नेपालमा शिकारको लागि आगमनको ८ वर्ष पछि वि.सं. १९४१ को साउनमा रणोद्वीपको शासनकालमा ड्यूक अफ पोर्टल्याण्ड (छैठौ) विलियम क्याभेन्डिस नेपालमा शिकारको लागि आएका थिए । उनको साथमा त्यस बेलाका प्रख्यात शिकारी लर्ड दि ग्रे पनि आएका थिए । लर्ड दि ग्रे पछि लर्ड रिपनको नामले भारतमा केही समयको लागि भाइसराय पनि बने । महान शिकारी लर्ड दि ग्रे ले एकै गोलीबाट ६ वटा तित्राको शिकार गरेको कीर्तिमान राखेका थिए । उनले आफ्नो शिकार जीवनमा करिव ५ लाख ५० हजार चरा तथा खरायोहरु मारेका थिए । साथै नेपालमा शिकारमा आउँदा ९७ बँदेल, १२ जंगली अर्ना, ११ बाघ तथा २ गैडा मारेका थिए ।


वि.सं. १९४१ को साउनमा रणोद्वीपको शासनकालमा ड्यूक अफ पोर्टल्याण्ड (छैठौँ) विलियम क्याभेन्डिस नेपालमा शिकारको लागि आएका थिए । 

त्यसैगरि काका रणोद्वीपको हत्या गरि श्री ३ बनेका वीर शम्शेरको सत्तालाई अंग्रेजहरुले स्वीकार गरेनन् । वीरशम्शेर कूटनैतिक चालले अंग्रेज सरकारलाई आफ्नो सरकारको मान्यता दिलाउन भरमग्दुर प्रयास गरिरहे । अंग्रेजले पनि चाल चलिरहे । आफ्नो मनसाय पुरा भएमा वीरशम्शेरको प्रधानमन्त्रीत्व स्वीकार गर्न अंग्रेज तैयार थिए । यसैबेला शिकारको लागि जर्ज पाँचौका छोरा युवराज अल्वर्ट विक्टरलाई वीर शम्शेरले निम्तो पठाए । वि.सं. १९४६ को मंसिरमा नेपाल आइपुगेका उनको पनि विशेष आतिथ्यता वीर शम्शेरले जंगलमा शिकारबाट नै गराइएको थियो ।


वि.सं. १९४६ को मंसिरमा वीरशम्शेरको शासनकालमा जर्ज पाँचौका छोरा युवराज अल्बर्ट विक्टर शिकारको लागि नेपाल आइपुगेका थिए । 


वि.सं. १९४९ को फागुनमा भने गैर बेलायती शिकारीको आगमन नेपालमा भयो । अस्ट्रियाका युवराज आर्कड्युक फ्रान्ज फर्डिनान्ड वीर शम्शेरको निम्तोमा शिकारको लागि आएका गैर बेलायती हुन् । उनले नेपालको कैलाली र कञ्चनपुरमा १७ बाघ ६ गैडा तथा असंख्य अन्य जनावरको शिकार गरेका थिए । यस शिकार यात्रा कूटनीतिक रुपले महत्वपूर्ण नभए पनि अन्य कारणले निकै महत्वपूर्ण भने रह्यो । युवराज आर्कड्युक स्वयं महान शिकारी भए पनि साराएगोको यात्रामा रहँदा वि.सं.१९७१ असार १५ मा उनी स्वयं शिकार भए । उनको हत्या केबल एक व्यक्ति हत्याको रुपमा रहेन् । यहि हत्याको कारणले पहिलो विश्वयुद्ध शुरुवात भयो जसले गर्दा २ करोड भन्दा बढिको मृत्यु भयो तथा ४ करोड सर्वसाधारण तथा सैनिकहरु घाइते भए ।


वि.सं. १९४९ को फागुनमा भने गैर बेलायती अस्ट्रियाका युवराज आर्कड्युक फ्रान्ज फर्डिनान्ड वीरशम्शेरको निम्तोमा शिकारको लागि आएका थिए । 


वीरशम्शेरले भारतमा रहेका भाइसराय लर्ड कर्जनलाई पनि शिकारको निम्तो दिएका थिए । तर लर्ड कर्जनले स्वीकृति दिँदासम्म वीरशम्शेर विमार भए । उनले त्यतिबेला आफू शिकारमा जान नसक्ने जानकारी पठाए । यसै अवसरमा अंग्रेजले भारतीय सेनामा रहेको गोर्खालीको संख्या बढाउन अनुरोध गरे जसलाई वीरशम्शेरले सहजै स्वीकार गरे । जसले गर्दा अंग्रेज सरकारले मान्यता दिइहाले । पछि चन्द्रशम्शेरले नै लर्ड कर्जनलाई शिकारको लागि फेरी आमन्त्रण गरे ।

वि.सं. १९५७ को चैत्र १७ गते लर्ड कर्जन शिकार खेल्न नेपाल आइपुगेका थिए । कूटनीतिमा माहिर खेलाडी चन्द्रशम्शेरले आफ्नो स्वार्थ पुरा गर्न लर्ड कर्जनलाई शिकारको लागि निम्तो पठाएका थिए । भाइसरायको भ्रमणले धीरशम्शेरको सन्तानमा रहेको श्री ३ मा अंग्रेजको पूर्ण समर्थन रह्यो । दाजु देवशम्शेरलाई सत्ताच्युत गरेको दाग पनि चन्द्रशम्शेरले अंग्रेज भाइसरायको आतिथ्यतासंगै मेटे । यसरी शिकार खेल्न आएका लर्ड कर्जन भारतबाट फर्केर बेलायतमा सेवानिवृत रुपमा रहँदा वि.सं. १९६४ असार १७ गते भारतीय स्वतन्त्रता सेनानी मदनलाल ढिंगराको गोलीको शिकार भए ।


वि.सं. १९५७ को चैत्र १७ गते लर्ड कर्जन शिकार खेल्न नेपाल आइपुगेका थिए । 

चन्द्रशम्शेरले पनि आफ्नो बेलायत यात्राबाट फर्केर आए पछि अंग्रेज राजा जर्ज पञ्चमलाई नेपालमा शिकार खेल्न आमन्त्रण गर्न सफल भए । राजा जर्ज पञ्चम राजा बनेको केही समय पछि नै लामो यात्राको क्रममा भारत तथा नेपाल पनि आएका थिए । चन्द्रशम्शेरको विशेष निमन्त्रणामा शिकारको लागि आइपुगेका राजा जर्ज पञ्चम वि.सं. १९६८ पुस ३ को बिहान १० बजे ठोरीको बाटो हुँदै नेपालको सिमा प्रवेश गरेका थिए । भर्खरै नेपालका राजा पृथ्वीवीर विक्रमको देहावसान भएको तेह्र दिन सकिएको थियो । तर पनि राजा जर्ज पञ्चमको भ्रमण तालिकामा कुनै फेरबदल गरिएन् । बेलायती राजाको स्वागत गर्न समकक्षी नेपाली राजा पुग्न पाएनन् । भर्खरै राजा भएका बालक त्रिभुवन सानै थिए । साथै श्री ३ चन्द्रशम्शेर पनि स्वागतको लागि पुगे  । चन्द्रशम्शेरको साथ दुई छोरा मोहनशम्शेर र केशरशम्शेर तथा नेपालका लागि बेलायती रेसिडेन्ट ले.क. जोन मानर्स स्मिथ पनि पुगेका थिए । राजाको शिकारको सम्पूर्ण प्रबन्धको लागि अर्का छोरा बबरशम्शेर खटाइएका थिए । चितवनको कसरामा बेलायती साम्राज्यका सबैभन्दा उच्च व्यक्तित्वलाई नै नेपालमा शिकारको लागि चन्द्रशम्शेर सक्षम हुनु राणाहरुको लागि नै अहोभाग्य थियो । चन्द्रशम्शेरले जर्ज पञ्चमको आतिथ्यतामा केही कमि हुन दिएनन् । जर्ज पञ्चमको लागि कसरा तथा सुखिवारमा दुईवटा क्याम्प बनाइएको थियो । सम्पूर्ण सुख सुविधा सहितको सो क्याम्प कुनै दरबार भन्दा कम थिएन् । तातो तथा चिसो पानीको व्यवस्था तथा जेनेरेटरबाट बिजुली समेत बालिएको थियो । सन १९११ को क्रिसमस राजा जर्ज पञ्चमले नेपालमा नै मनाएका थिए । डिसेम्बर २८ अर्थात पुस १३ गते नेपालबाट बिदा लिएका थिए । चन्द्रशम्शेरले आफ्नो नेतृत्वमा १२००० सैनिक तथा कर्मचारीहरु नै खटाएका थिए । साथै ६०० हात्ती र २००० शिकारी, मजदुर तथा माउतेहरु पनि शिकारको लागि व्यवस्था गरिएको थियो । त्यतिबेला ३९ बाघ, ४ वटा भालु, १८ वटा गैडा तथा अन्य जंगली जनावरहरु पनि मारिएका थिए ।

राजालाई चन्द्रशम्शेरले उपहारको रुपमा विभिन्न जनावरहरु दिएका थिए । प्रख्यात हात्ती जङ्बहादुर तथा बंगाल टाइगरको साथै गैंडाको बच्चा तथा तिब्बती गधाको साथ ७० प्रकारको जनावरहरु उपहारमा दिएका थिए । साथै नेपालको प्रख्यात कलाकृतिहरु पनि उपहारमा दिएका थिए । राजा जर्ज पञ्चमले पनि श्री ३ चन्द्रशम्शेरलाई Knight Grand Commander of the Royal Victorian Order (GCVO) साथै दिल्ली दरबारबाट उच्च पदस्थ तथा राजा महाराजाहरुलाई वितरित शुभराज्याभिषेक गोल्डमेडल पनि दिइएको थियो ।


चन्द्रशम्शेरको विशेष निमन्त्रणामा शिकारको लागि राजा जर्ज पञ्चम वि.सं. १९६८ पुसमा आइपुगेका थिए । 

वि.सं. १९७८ को मंसिर २९ मा युवराज एडवर्ग पछि (राजा एडवर्ग आठौँ) नेपालमा शिकारको लागि ठोरी आइपुगेका थिए । राजा जर्ज पाँचौ झै ठोरी हुँदै कसरामा आएका थिए । उनको शिकारको प्रबन्ध चन्द्रशम्शेरले नै मिलाएका थिए । चन्द्रशम्शेरको विशेष आतिथ्यतामा रहेका उनले पनि चितवनको कसरामा १४ बाघ ७ गैडा २ चितुवा र २ भालुको शिकार गरेका थिए । युवराज एडवर्ग राजा भएको केही समय पछि नै विलिस सिम्पसनसंगको प्रेमसम्बन्धका कारण राजकाज त्यागेर अमेरिकी राज्य मियामी गएर बसेका थिए ।


वि.सं. १९७८ को मंसिर २९ मा युवराज एडवर्ग जो पछि राजा एडवर्ग आठौँ भए शिकारको लागि आइपुगेका थिए । 

वि.सं १९८९ को माघमा बेलायती मन्त्री अर्ल अफ एलेसफोर्ड, मेजर जनरल सर रिचार्ड हवार्ड तथा कर्नल स्टिभेन्सन चितवनमा शिकारको लागि आएका थिए । शिकारमा रहदै फिनल्याण्डका फिल्ड मार्सल कार्ल गुस्तफा एमिल मेनरहेम पनि भ्रमणमा आएको समय शिकारको लागि आमन्त्रण गरिएको थियो । कार्ल गुस्तफा मेनरहेम दोश्रो विश्व युद्धको समय फिनल्याण्डका राष्ट्रपति बन्न सफल भए । रसियन अक्टोवर क्रान्तीको समय रसियन सेनामा रहेका गुस्तफा फिनल्याण्ड फर्किएर फिनल्याण्डको सेनामा फिल्ड मार्सल सम्म बने साथै रसियाको विरुद्धमा खडा रहे । त्यतिबेला फिल्ड मार्सल मेनरहेमले शिकार गरेको बाघ निकै लामो थियो । करिब १० फिट ७ इन्च नापिएको बाघ त्यतिबेलाको चर्चित बाघ थियो । जुद्धशम्शेरले सोही शिकारको क्रममा मारेको १० फिट ९ इन्च लामो बाघ सबैभन्दा लामो बाघको रुपमा लिइएको थियो ।

वि.सं १९९१ माघ १२ मा दिल्ली पुगेका श्री ३ जुद्धले दिल्ली दरबारमा भव्य स्वागत पाए । भाइसराय लर्ड लिनलिथगोको स्वागतबाट प्रभावित भएका प्रधानमन्त्री जुद्धशम्शेरले पनि भाइसराय लर्ड लिनलिथगोलाई शिकारको निम्तो दिएर आए । वि.सं १९९५ को मंसिर १७ मा भाइसराय लिनलिथगो सपरिवार शिकारको लागि चितवन आइपुगेका थिए । उनको साथ श्रीमती तीन छोरीहरु तथा भाइसरायका कर्मचारीहरु पनि थिए । भाइसरायले जुद्धशम्शेरको साथ चितवनको जंगलमा आठ दिनको शिकारमा १४ बाघ र ३ गैँडाको शिकार गरेका थिए ।


१९९५ को मंसिर १७ मा भाइसराय लर्ड लिनलिथगो सपरिवार शिकारको लागि चितवन आइपुगेका थिए । 

जुद्धशम्शेरको शासनकाल (१९९०-९७) अवधिमा अवधिमा ४३३ बाघ, ३८ गैडा, ९३ चितुवा, २२ भालु, २ सिंह, २० गोहि, १ अर्ना तथा ७० हरिण शिकारमा मारिएका थिए । राणाकालमा हात्तीलाई गणेश भगवानको रुपमा लिने हुँदा हात्तीको शिकार कहिल्यै गर्दैनथे । तर हात्तीलाई भने समात्ने गर्दथे ।

वि.सं. २०१७ सालमा राजा महेन्द्रले देशमा भर्खरै शुरु भएको प्रजातान्त्रिक सरकारलाई अपदस्थ गरेको केही समयमा नै बेलायती महारानी एलिजावेथलाई स्वागत गरेको थियो । शायद देशले अन्तिम पटक शिकार कूटनीतिको प्रयोगको रुपमा एलिजावेथलाई पनि कसरामा शिकारको कार्यक्रम बनाइएको थियो । वि.सं. २०१७ सालको पुस १ गते राजा महेन्द्रले प्रजातान्त्रिक सरकारको अपदस्थ गरेर पञ्चायती व्यवस्थाको शुभारम्भ गरेका थिए । यसको ढाइ महिनापछि फागुन १५ मा रानी एलिजाबेथको टोली काठमाडौ आइपुगेको थियो । यो कुनै संयोग होइन पूर्व तैयारी थियो । विश्वसामु पञ्चायती व्यवस्था देशको भूगोल र जनचाहना अनुरुप ल्याइएको थियो भन्ने देखाउन पाउने अवसर पनि थियो । रानीको लागि भोलिपल्ट नै कसरामा शिकारको व्यवस्था मिलाइएको थियो ।

राजा जर्ज पाँचौको स्वागत गरेको नेपालले फेरी उनको नातिनी रानी एलिजाबेथको पनि स्वागत गर्ने अवसर पाएको थियो । जंगल भित्र विशेष रुपले रानी एलिजाबेथ तथा राजा महेन्द्रको लागि बनाइएको बिशाल क्याम्पसम्म पुग्ने सडक बुल्डोजरले सम्याइएको थियो । जहाजको लागि झण्डै १ किमी लामो धावनमार्ग भएको विमानस्थल नै बनाइयो । क्याम्प रहेको अढाई वर्ग किमी क्षेत्रको जमिन खोतलेर मजदुरहरुलाई बिच्छी तथा अन्य किराफट्याङ्ग्रा टिप्न लगाइएको थियो । आकाशमा औषधी छरेर लामखुट्टे तथा झिंगाहरु मारिएको थियो । यसरी सम्याइएको तथा किराफट्याङ्ग्रा मुक्त जमिनमा तराइबाट ल्याइएको विशेष घाँस रोपिएको थियो । कैयौँ दिनसम्म काठमाडौका दमकलहरु ति घाँसहरुको लागि पानी छर्न प्रयोग गरिएको थियो । क्याम्पको बीचमा विश्वको उच्च हिमशिखर सगरमाथाको नमुना तैयार गरिएको थियो ।


२०१७ फागुन १६ मा रानी एलिजाबेथको टोली शिकारको लागि कसरा पुगेको थियो ।  

क्याम्प भित्र बनाइएको सडक एकातर्फ बेलायती रानीको क्याम्प थियो भने अर्को तर्फ नेपालको राजाको क्याम्प बनाइएको थियो । रानीको क्याम्पसंगै सुरक्षा तथा सहयोगीको क्याम्प तथा प्रेस तथा मिडियाको लागि प्रबन्ध मिलाइएको थियो भने राजा तर्फ पनि सुरक्षा तथा सहयोगीहरुको क्याम्पहरु बनाइएको थियो । कुनै महल वा दरबार भन्दा कमका बनाइएका थिएनन् यि क्याम्पहरु । तीनवटा ठूला ठूला किचन, ठूलो बैठक कोठा, प्रिन्स फिलिप तथा रानीको लागि अलग अलग शयनकक्ष, दुई ड्रेसिङ रुम, दुई विशेष सजावट सहितको बाथरुम तथा दुई पाहुना कोठा पनि बनाइएको थियो । रानीको कोठा रानीको प्रिय रङ गुलावी रङका सामग्रीले सजिएको थियो भने फिलिपको कोठा निलो रङका सामग्रीले सजिएको थियो । यता राजा महेन्द्रको क्याम्पको सजावटमा पनि कुनै कमी गरिएको थिएन् ।

त्यतिबेला रानीको साथ यात्रा प्रबन्धका लागि आएका विदेश सचिव लर्ड डगलस होमपछि बेलायतका प्रधानमन्त्री नै बने । रानीको नेपाल बसाइको लागि सम्पूर्ण भोज तथा खानाको प्रबन्ध त्यतिबेलाका चर्चित बोरिस लिसानेविचले गरेका थिए । बोरिस भारतका ओडिसामा जन्मेका युक्रेनियन नागरिक थिए । उनले नेपालकै पहिलो होटल रोयल चलाएका थिए भने हाल रहेको याक एण्ड यतिका कल्पनाकार तथा शुरुका मालिक थिए । उनले रानीको अधिकांश भोज तथा खानाको लागि विशेष रुपले हङकङबाट सामग्री खरिद गरिएको थियो । पाहुनाहरुको लागि ल्याइएको खाद्य सामग्री बोकेर पानीजहाज कलकत्तामा तथा त्यहाबाट सडकमार्गमा काठमाडौं तथा सौराहा लगिएको थियो ।

रानीको लागि नेपालको सम्पूर्ण जंगलबाट ल्याइएका ३७६ हात्तीको लहरले स्वागत गरिएको थियो । हात्तीको लस्कर करिब ३ कि.मी. लामो थियो । सौराहाको जंगलमा बोरिसले याक एण्ड यति रेष्टुरेन्टको सानो स्वरुप नै तैयार गरेका थिए । विदेशबाट ल्याइएका बारगर्लहरुले पाहुनाहरुलाई सत्कार गरेका थिए । जंगलमा गरिएको पहिलो शिकार बाघ भने लर्ड होमको लागि डरलाग्दो शिक्षा नै भयो । उनको नजिकै रहेको बाघलाई उनले हानेको तीन गोली नै खेर गएको थियो । पछि एडमिरल कार्टर तथा सर माइकल एडेनले गोली हानेर मारे । पछि पत्रकार सम्मेलनमा लर्ड होमले लाचारीपूर्वक स्वीकारे, कहिल्यै हात्ती माथि नचढेको तथा बाघलाई चिडियाखाना भन्दा बाहिर नदेखेको । यसरी नेपालमा बेलायती राजपरिवारको अन्तिम शिकार समाप्त भयो । यसपछि नेपालमा पनि बिस्तारै शिकारमा नै प्रतिबन्ध लाग्यो । तर पनि नेपालको राजपरिवारको अन्तिम शिकार यात्रा भने राजा महेन्द्र तथा रानी रत्नको पश्चिम नेपालको शुक्लाफाँटाको शिकार यात्रा थियो ।

वि.सं. २०२७ सालको माघमा राजा महेन्द्र रानी रत्नको साथ शुक्लाफाँटाको जंगलमा शिकारको लागि पुगेका थिए । तर अफसोस माघ १७ मा शिकारको क्रममा हरिणलाई हानेको गोली ढुङ्गामा ठोक्किएर उछिट्टिदा रानी रत्नको कोखा तथा हातमा लाग्न पुग्यो । सेनाको हेलिकोप्टरले तुरन्तै काठमाडौ ल्याएर भोलिपल्ट नै अप्रेशन गरेर गोलीका छर्राहरु निकालियो । सो समय सेना तथा डाक्टरले लखनउ नजिकै भएको हुँदा लखनउ लग्ने सल्लाह दिइए पनि राजा महेन्द्रले काठमाडौ नै लैजान लगाएका थिए । कहिल्यै रातमा हेलिकोप्टर नउड्ने त्यो समय रातको रहस्यमय हेलिकोप्टरको आवाजले धेरै नै सशंकित भएका थिए । राजा माथि नै कुनै भवितव्य भएको अड्कल धेरैले काटेका थिए । यस घटनाको अर्को वर्षदेखि नेपालमा शिकारमाथि प्रतिबन्ध लाग्यो ।


वि.सं. २०२७ माघ १७ गते शिकारको क्रममा राजा महेन्द्रले चलाएको बन्दुकबाट रानी रत्नको कोखा तथा हातमा गोली लागेको थियो । 


यस बाहेक पनि अनगिन्ति शिकारका कथाहरु राणाकालमा लेखिएका छन् । भारतीय राज्यका राजाहरु पनि शिकारका लागि आएको देखिन्छ । बिकानेरका राजा  पर्यटकको रुपमा ब्रिटिस रेसिडेन्सीको निम्तोमा वि.सं १९९३ को फागुनमा पहिलो फिनल्याण्ड पर्यटक मार्शल मानर्हम आएका थिए ।

यसरी व्यक्तिगत तथा राज्यको प्रत्यक्ष अप्रत्यक्ष स्वार्थको लागि हजारौँ जनावरहरु मारिए । राणाकालमा सबैभन्दा बढी जनावर जुद्धशम्शेरको शिकार तथा उनको समय आएका पाहुनाहरुको गोलीको कारण मारिए । जुद्धशम्शेरको शासनकालमा ४३३ बाघ, ५३ गैडा, ९३ चितुवा तथा २२ जंगली भालु मारिएका थिए । जंगबहादुरको शासनकालमा केबल २६ बाघ मारिएको थियो ।

देशले अचेल भने शिकार कूटनीतिलाई केही फरक बनाएको छ । जंगली जनावरको शिकारलाई परिमार्जन गरेर शिकार होइन उपहार बनाएको छ । जसलाई Rhino Diplomacy भन्ने गरिन्छ । कूटनीतिक स्वार्थको लागि गैंडा उपहारमा दिने गरिन्छ ।

सन्दर्भ सामाग्री

The Historical Record Of The Imperial Visit To India - 1911
Journal Natural History Society
The Prince of Wales' Eastern book, a pictorial record of the voyages of H.M.S. Renown, 1921-1922
Tiger for Breakfast and others
Johannes Bornmann

 

 

 

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  3. फाल्गुन २९, दशरथ रंगशालामा ९३ जना खेलप्रेमीले ज्यान गुमाएको दिन
  4. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  5. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  6. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  7. तानाशाह हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर
  8. जङ्गबहादुर राणाको तलब थियो होला ? त्यो बेला एक रुपैँयामा २२ माना मसिनो चामल आउँथ्यो।
  9. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  10. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल